मङ्गलबार, ११ बैशाख २०८१

सिँचाइबाट तीन हजार लाभान्वित

१० श्रावण २०७६, शुक्रबार ११:४३ मा प्रकाशित

तनहुँ, १० साउन   ,,  तनहुँको घिरिङ गाउँपालिका–१ स्थित जिल्लाकै ठूलो दाबी गरिएको अत्रौली पुट्टार सिँचाइ आयोजनाको पुनःनिर्माणपश्चात त्यस क्षेत्रका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समुदाय व्यवस्थित सिँचित कृषि क्षेत्र आयोजनाअन्तर्गत करीब १८ किलोमिटर लामो नहरको ८० प्रतिशत पुनःनिर्माण काम सम्पन्न गरी नहरमा पानी सञ्चालनपश्चात त्यस क्षेत्रका ५०० घरधुरीका करीब तीन हजार मानिस प्रत्यक्ष लाभान्वित हुने भएका छन् । उक्त नहरको पानीबाट सिँचित हुने त्यस क्षेत्रको ४३५ हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ६० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न हुँदा त्यस क्षेत्रका बासिन्दा खुशी भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माण गर्न बाँकी २० प्रतिशत काम सम्पन्नपश्चात आउँदो वर्षमा त्यस क्षेत्रका सबै जग्गामा धान रोपाइँ हुने लक्ष्य राखिएको छ । करीब ३०÷३५ वर्षअघि निर्माण गरिएको उक्त नहरको ठाउँ–ठाउँमा पहिरो गई अवरुद्ध हुँदा नहरमा पानी सञ्चालन गर्न नसकेपछि विगत केही वर्षयता त्यसक्षेत्रका बासिन्दाले धानखेती गर्नबाट बञ्चित हुँदै आएका थिए । करीब रु २० करोड अनुमान लागत रहेको उक्त आयोजनाको रायमाझी कन्ट्रक्सन प्रालिले २०७२ मङ्सिर १८ ठेक्का सम्झौता गरी रु १३ करोड १७ लाखमा ठेक्का लिई पुनःनिर्माणकार्य थालेको हो । २०७६ जेठ ३० भित्र पुनःनिर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि गत आवमा कात्तिकबाट पुनःनिर्माणको काम थालिएकाले समयावधिमा सम्पन्न गर्न नसकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख पूर्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । साउनमा निर्माणकार्य थाल्नुपर्ने प्रावधान रहे पनि साउनदेखि कृषकलाई खेत रोप्नका लागि पानी आवश्यक पर्ने र निर्माणकार्य गर्दा पानी बिथोलिने भएकाले कात्तिकबाट मात्रै निर्माणको काम शुरु गरिने गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । दोस्रोपटक २०७६ पुस मसान्तसम्मका लागि म्याद थप प्रस्ताव भएकामा हाललाई २०७६ भदौ १८ सम्म निर्माण सम्पन्न गर्ने गरी गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट स्वीकृत गरे पनि साउनदेखि काम गर्न नमिल्ने भएकाले कात्तिकबाट काम थालेर पुस मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त नहरको हालसम्म नौ मिटर पक्की नहर निर्माण, डेढ÷डेढ मिटरको पानी तार्ने दुई आरसिसी पक्की डुढ, १८८ मिटर, १२६ मिटरका दुई स्टिल साइफन र पहिरो रोक्नका लागि तारजालीको ग्याबिन लगाउने कार्य सम्पन्न भएको छ । उक्त नहरमा आवतजावत गर्न सहज बनाउने उद्देश्यले १६ किलोमिटर दूरीसम्म सडक पहुँचमार्ग पु¥याइएको छ, उहाँले भन्नुभयो । नहरमा लामो समयदेखि पानी चलाउन नसक्दा धानखेती प्रभावित हुँदै आएपछि यस वर्षदेखि खेत रोप्न पाउँदा स्थानीय कृषक खुशी भएका छन् । कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पुनःनिर्माण सम्पन्नपश्चात त्यस क्षेत्रका सबै क्षेत्रफलमा धान रोप्न सक्नेछन् ।” पुनःनिर्माण गर्न बाँकी रहेको २० प्रतिशतमा करीब एक हजार शाखा नहरको मुख निर्माण, पात दुई वटा छान्ने संरचना र शाखा नहर १२ पुनःनिर्माण गर्नुपर्ने रहेको कार्यालयका इञ्जिनीयर दिवाकरप्रसाद मण्डलले बताउनुभयो । उक्त आयोजनाको ९२ प्रतिशत भौतिक र ७५ प्रतिशत आर्थिक प्रगति भएको सो कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter