बिहिबार, ०६ बैशाख २०८१

कालीगण्डकीमा स्टिमर सेवा स्थगित

१ श्रावण २०७६, बुधबार १६:०१ मा प्रकाशित

पर्वत, १ साउन  ,,  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्थगित भएको हो । यातायात सेवा स्थगित भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । व्यावसायिक रुपमा १९ वर्षदेखि स्टिमर सञ्चालन भएपछि स्याङ्जा, पर्वत र गुल्मीका विभिन्न गाविसका बासिन्दाले नौ महीनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महीना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिका–६ साविकको शालीग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करीब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालन हुँदै आएको छ । यातायात अवरुद्ध हुँदा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता भएको छ । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका स्थानीयवासी यातायात अवरुद्ध हुँदा खच्चरमार्फत महँगो शुल्कमा ढुवानी गर्न बाध्य बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको स्थानीयले बताए । स्टिमरबाट दैनिक एक हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्ने गरेको विहादी गाउँपालिका–६ शालीग्रामका वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टीमर सञ्चालन गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter