शनिबार, ०८ बैशाख २०८१

छलिया र हुड्के नाचको माग बढ्दो

१ श्रावण २०७६, बुधबार १५:०४ मा प्रकाशित

डोटी, १ साउन  ,,  सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ । विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के नाच नाच्ने गगने नेपालीले भन्नुभयो – “पहिला नाच देखाए बापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर, अहिले बोलाएको ठाउँ पैसा लिने गरेका छौँ ।” सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा धार्मिक कार्यक्रमहरु हुँदा सबैभन्दा बढी छलिया र हुड्के नाच नचाइने गरिएको उद्योग बाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – “विभिन्न चाडबाडदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन । अहिले त हुड्के नाच्नेको अग्रिम बुकिङ नै गर्नुपर्छ ।” यति मात्र नभई डोटीको दीपायल र तिखाँका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले जानकारी दिनुभयो । दीपायलको हुड्के नाच टोलीले एक दिनको रु १५ हजार लिने गरेको छ भने छलिया नाच टोलीले रु १५ हजारदेखि २० हजारसम्म लिने गरेको छ । छलिया नाच ज्यादाजसो बैतडी जिल्लावासीले नाच्ने गर्दछन् । यतिमात्र नभई डोटीको शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो – “महिनामा चार÷पा“च ठाउ“मा मात्रै हुड्के देखाउन पाए वर्Èभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको पनि बताउनुभयो । त्यसैगरी, सुदूरपश्चिम प्रदेशकै प्रख्यात मानिने बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् । छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्È डोटी, कञ्चनपुर, धनगढी, टिकापुर, सा“फेवगर महोत्सवमा छलिया नाच देखाएर रु १ लाख ५० हजार रुपैया“ कमाएको बैतडी छलिया समूहले बताएको छ । छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाको तालमा नाच्ने तथा नाच्न नजाने चोटपटक लाग्नसक्ने दीपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । “हुड्के नाचमा पुराना राजारजौटा, वीरवीरङ्गना र देवीदेवताहरुका जीवन गाथा गाउने गरिन्छ,” उहाँले भन्नुभयो – “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाच भएकाले नजानेमा चोट लाग्न सक्छ ।” सुदूरपश्चिममा नाचिने छलिया नाचले युद्धकला झल्काउँछ । सुदूरपश्चिम प्रदेशमा प्रचलित छलिया, हुड्के, चौलो भुवाँ नाचलाई व्यवसायिकतातिर लैजान सके यहा“को कला संस्कृति लगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने स्थानीयवासी डम्बर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो – “सुदूरको संस्कृति जोगाउने र चिनाउने हो भने छलिया, हुड्के, चौलो भुवाँ नाचलाई संरक्षण गर्न जरुरी छ ।” हुड्के गीत नेपालको सुदूरपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो । यसलाई सुरिलो स्वरमा तीनदेखि चारजनाले मिलाएर गाउने गरिन्छ । यो गीत खासगरी सुदूरपश्चिम प्रदेशका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डडेल्धुरा र डोटी जिल्लामा मुख्य रूपमा गाउने गरिन्छ । हुड्के गीत अरु समयमा नभएर विशेष गरी यहाँका प्रशिद्ध मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य गर्न मिल्ने गीत भएको शिखर नगरपालिका वडा नं १ गुठेउडीका हुड्के नाच्ने धनीराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो – “हुड्के नाच पञ्चे बाजाको तालमा गाउँदै नाचिने भएकाले यसको आफ्नै पहिचान छ ।” यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सिर्जना भई लोकप्रियता कमाएको यहाँको हुड्केले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । उक्त नाच र गीत खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह जस्ता अवसरमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रुपमा पनि गाउन सकिन्छ । सुदूरपश्चिमको हुड्के तथा छलिया नाच छिमेकी मुलुक भारतका विभिन्न ठाउँहरुमा गाइने र नाचिने गरिन्छ । मान्छेको जीवनमा आउने सुखदुःखका अनुभूति, मिलन बिछोड तथा पुराना राजारजौटाले गरेका काम कार्वाहीको पक्षलाई उक्त गीतले सङ्केत गरेको हुन्छ । त्यसैगरी, सुदूरपश्चिममा हुड्के, छलिया नाचसँगै डेउडा गीत पनि निकै लोकप्रिय बन्दै गएको छ । यहाँका पुराना डेउडा गीतहरुले हिजोआज मानिसको मन निकै लोभ्याउने गरेको छ । यहाँका वनजङ्गललगायत विभिन्न ठाउँमा गाइने डेउडा गीत सुदूरपश्चिमको कला संस्कृतिको चिनारी समेत बन्दै गएको स्थानियवासीहरु बताउँछन् । डेडा खेलबाट नै डेउडा संस्कृतिको उत्पत्ति भएको मानिन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतैगीतमा सवालजवाफ हुन्छ । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा एक समूह युवक र अर्को समूह युवतीको हुन्छ । युवा युवाबीच युवती युवतीबीच पनि यो सवालजवाफको खेल हुन्छ । यो डेउडा सुदूरपश्चिमका नौ वटै जिल्लामा खेलेको देख्न पाइन्छ । समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल नै डेउडा खेल भएको सुदूरपश्चिमका चर्चित डेउडा गाएका सूर्यविरही साउदले बताउनुभयो । बालकदेखि वृद्धवृद्धासम्मले उक्त डेउडा खेल्न मिल्ने र सकिने भएकाले पनि यो खेल सुदूरपश्चिमको प्रख्यात खेल मानिँदै आइएको छ । डेउडा खेल गौरा पर्वमा पनि खेलिने गरिन्छ । डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) भएको केआई सिंह गाउँपालिका वडा नं ६ का स्थानीयवासी जगतबहादुर बलायरले बताउनुभयो । झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड कदम हान्नु पर्ने हुन्छ । एक कदममा खुट्टा पूरा जान्छ भने अर्को कदममा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकाले यस खेलको नाम देउडा र यसमा प्रयोग हुने गीतलाई डेउडा गीत भनिएको हो । डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्तिमध्ये पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पूरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । डेउडा अथवा न्याउले खेल भन्नाले कुनै खेलकूद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । डेउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एकापसमा पाखुरा समातेर समूहगत रुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् । विभिन्न उमेर समूहका महिला तथा पुरुषले यस गीतमा छुट्टाछुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यङ्ग्यका साथै सामाजिक उत्पीडन, विषमता जस्ता विषयहरू डेउडामा मिहीन किसिमले केलाएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा डेउडियाहरू ठूलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुईजना गीदाउडाहरू हुन्छन् । गीतको उठान गर्ने व्यक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिने गर्दछन् । यसरी प्रस्तुत गरिने सवालजवाफलाई यहाँको भाषामा झिट्टा भनिने जोरायल गाउँपालिका वडा नं ५ का डेउडीया धनीराम नेपालीले बताउनुभयो । दोहरी शैलीमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बूढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टाछुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवक युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गर्ने गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतैगीतबाट सवालजवाफ गरी परिचय गर्ने र मायाप्रेमका गीतहरूसमेत गाउने हुनाले यसको रोचकता नै बेग्लै हुन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter