आइतबार, २३ बैशाख २०८१

हेटौँडा सिमेण्टको उत्पादन शुरु

२० असार २०७६, शुक्रबार १३:४७ मा प्रकाशित

हेटौँडा, २० असार   ,,  करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब रु ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने उद्योगको मुख्य मेसिन बिग्रेपछि उत्पादन ठप्प भएको थियो । उद्योग प्रशासनका अनुसार उद्योगको मोटर आफैँ प्राविधिक कर्मचारी तथा रोयटर पार्टस् ब्याण्डिङको काम वीरगञ्जबाट गराइएको छ भने भारतबाट एक जना विषेशज्ञ बोलाएर मेसिनको जाँच तथा निरीक्षण गराएपछि उत्पादन शुरु भएको जनाइएको छ । दुई महीनादेखि उद्योग सिमेण्ट उत्पादनको काम बन्द भएको कारण बजारमा हेटौँडा सिमेण्टको अभाव भएको थियो । आजदेखि उद्योग पूर्ण क्षमतासहित सञ्चालनमा आएपछि अबको एक हप्तापछि बजारमा सिमेण्ट बिक्री बितरण गरिने उद्योगका महाप्रबन्धक सिंहले राससलाई जानकारी दिनुभयो । वार्षिक ३१ लाख बोरा सिमेण्ट उत्पादन गर्ने लक्ष्य रहेको उद्योगले यसवर्ष लक्ष्य भने प्राप्त नगर्ने जनाइएको छ । यस वर्ष उद्योगले २० लाख बोरा मात्र सिमेण्ट उत्पादन गरेको महाप्रबन्धक सिंहको भनाइ छ । क्लिङकर उत्पादन बन्द भएपछि सिमेण्ट उत्पादनमा पनि ह्रास आएको बताइएको छ । उद्योगले यस आर्थिक वर्षमा ३० लाख बोरा सिमेण्ट उत्पादनको लक्ष्य राखेकामा मेसिन बिग्रेका कारण लक्ष्यमा पुग्न कठिन हुने महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगको उत्पादनमा कमी आएपछि उपभोक्ता र आधिकारिक बिक्रेता चिन्तित भएका थिए । सर्वाधिक रुचाइएको हेटौँडा सिमेण्टको अभावले कतिपय उपभोक्ताले घर निर्माणमा समेत ढिलाइ गरेका थिए । निजी क्षेत्रका सिमेण्ट उद्योग आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक प्रतिस्पर्धामा गइरहेको वर्तमान परिस्थितिमा नेपाल सरकारको स्वामित्वमा सञ्चालित यस उद्योगमा पनि आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । हाल यस उद्योगमा मजदूर तथा कर्मचारी र प्राविधिक गरी करीब ४०० जना कार्यरत रहेका छन् । हालैमात्र नाप तथा गुणस्तर कार्यालय वीरगञ्जले पनि सिमेण्ट उद्योगको गुणस्तर जाँच गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter