गलेश्वर, २० वैशाख ,, पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मलेन गरी उक्त निर्णय सार्वजनिक गरिएको हो ।
यसका साथै फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेडले कूल रु पाँच अर्ब १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । उक्त जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताउनुभयो । आयोजनाको गत फागुनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो ।
आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एक वर्ष अगाडि नै सम्झौता भइसकेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । आयोजामा दक्षिण कोरिया, हङकङ, बेलायतलगायत विश्वका विभिन्न देशका साथै काठमाडाँैमा बसोबास गर्ने म्याग्देलीको वित्तीय संस्था म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसीप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेका छन् ।
पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुनेछ । रन अफ द रिभर शैलीको आयोजना दरबाङदेखि दुई किलोमिटर माथि म्याग्दीखोलामा बाँध बाँधेर पाँच किलोमिटर टनेलमा २०० मिटरको पेनस्टक पाइपबाट मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित बलौटेमा रहने विद्युत्गृहमा झारी विद्युत् उत्पादन गरिनेछ ।
विद्युत् खरीद सम्झौता (पिपिए) मा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकसँग वर्षातको आठ महीना प्रतियुनिट रु ४.८० पैसा र सुख्खायामको चार महीना प्रतियुनिट रु ८.४० पैसा रहने उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभी ट्रान्समिटरलाइन हुँदै डाँडाखेत सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । योजना आगामी विसं २०६९ सम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।
बुढेसकालको सहारा
म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा विगत १० वर्षदेखि सञ्चालन हुँदै आएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम यस क्षेत्रका वृद्धवृद्धाका लागि बुढेसकालको सहारा बनेको छ ।
विसं २०६७ देखि बेनी नगरपालिका–९ गलेश्वरमा सञ्चालन हुँदै आएको आश्रममा अहिले ५५ वृद्धवृद्धा निःशुल्क आवासीय सुविधासहित सहारा लिइरहेका छन् । सामान्यतया ५० वर्ष काटेपछि आफ्नो छोराछोरीको सहारामा बाँचिरहेका हुन्छन् बुबाआमा । त्यसैले त भनिन्छ सन्तान बुढेसकालको सहारा हुन् । तर, तिनै बुढेसकालमा सहारा पाउने आश पालेका सन्तानका लागि बोझ बनेर बस्न नसेकेपछि ५५ ज्येष्ठ नागरिकका लागि यो आश्रम सहारा भएको हो । केही कामधन्दा गर्न नसक्ने बुवाआमालाई आफ्नै सन्तानले वास्ता नगरेपछि उनीहरु ज्येष्ठ नागरिक आश्रमको सहारामा बाँचेका हुन् ।
आफ्ना नातिनातिनासँग खेल्दै÷खेलाउँदै घरको आँगन, फूलबारी र खेतबारीको हेरचाह गर्ने उमेरमा एक्लै वृद्धाश्रममा बस्नु पर्दा उराठ र नरमाइलो लागेको विगत १५ वर्षदेखि वृद्धाश्रममा बस्दै आउनुभएकी यशोदा सरस्वतीले बताउनुभयो । “आश्रमले सहारा त दियो तर मनबाट आफ्ना सन्ततीको मोह हटाउन सकेन”, यशोधाले भन्नुभयो, “आश्रमबाट छोराछोरीले पाउने जस्तो माया त पाएका छौँ तर आफ्ना सन्तानले अभिभावकलाई गर्ने स्नेह र अपनत्वको अभावचाहिँ भइरहँदोरहेछ ।”
दाताको सहयोग र गलेश्वर शिवालय मन्दिरमा चढेको भेटीबाट सञ्चालन हुँदै आएको गलेश्वरधाम ज्ेष्ठ नागरिक आश्रममा अहिले गण्डकी प्रदेशका सबै जिल्लाका साथै प्यूठान र सल्यानसम्मका ज्येष्ठ नागरिकले आश्रम लिएका छन् ।
आश्रममा मासिक रु चार लाख बराबरको खर्च हुने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष बमबहादुर पुनले बताउनुभयो । “आश्रममा आउनुभएका बुबाआमालाई स्वास्थ्य उपचारदेखि बस्नेखाने, लत्ताकपडा सबै निःशुल्क दिने गरिएको छ, आश्रममा हुने खर्च दाता र गलेश्वर मन्दिरमा चढेको भेटीबाट जुटाउने गर्दछौँ”, पुनले भन्नुभयो ।
आश्रममा बिहान ९ बजेपछि घण्टी लाग्छ । त्यो घण्टी खाना तयार भएको जानकारी दिनका लगाइन्छ । घण्टीको आवाजसँगै वृद्धवृद्धा आफ्नो कोठाबाट थाल र कचौर लिएर भान्छामा पुग्छन् । बिहानको खाना खाएपछि शुरु हुन्छ भजनकीर्तन र त्यसपछि एकापसमा दुःखसुखका कुरा । यसरी नै बितिरहेको छ आफन्तबाट त्यागिएका तर आश्रमको सहारा पाएका ५५ वृद्धवृद्धाहरुको दैनिकी ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू