बलेवा, १५ वैशाख ,, बागलुङका विभिन्न गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनामा यो सडक स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षभित्र काम सक्नेगरी सङ्घीय सरकारको रु एक करोड र नगरपालिकाको भौतिक पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु ३७ लाख गरी कूल रु एक करोड ३७ लाख बराबरको बजेटमा सडकको स्तरोन्नतिको काम थालिएको हो । हाल रहेको एकतर्फी सडक चौँडा गरेर आठ मिटर बनाएपछि दोहोरो गाडी गुड्न सक्ने बनाइनेछ ।
यो सडकमै यसै आर्थिक वर्षमा पक्की नाली र पर्खाल पनि बनाइनेछ । ग्रेड नमिलेका केही स्थानको २०० मिटर खण्डमा सडकलाई ढलान गरी सुधार गरिने ठेकेदार कम्पनी विके कन्सट्रक्सनका प्रमुख प्रकाश घर्तीमगरले बताउनुभयो । यो सडकको स्तरोन्नतिपछि दक्षिण बागलुङका दर्जन बढी गाउँमा आवतजावत सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । साँघुरो सडकका कारण अहिले यात्रुले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । शनिबार प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले सडकको शिलान्यास गर्नुभयोे ।
सांसद पाठकले कानून निर्माणमा व्यस्त हुनुपर्दा पूर्वाधार निर्माणमा ढिलाइ भएको बताउँदै आगामी दिनमा विकास निर्माणको काममा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामीण भेगमा उत्पादन हुने सामग्री बजारसम्म पु¥याउन, पर्यटकीय गन्तव्य थप गर्न र युवालाई स्वरोजगरमूलक बनाउन ग्रामीण सडक सहज बन्नुपर्ने खाँचो रहेको पाठकले बताउनुभयो ।
तीन सहकारी एकीकृत
बागलुङ काठेखोला गाउँपालिका–२ भिमापोखरास्थित तीन वटा सहकारीलाई एकीकरण गरिइएको छ ।
गुँहेली सञ्चार सहकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायी सहकारी र सक्षम बचत ऋण सहकारी संस्थाको शनिबार सम्पन्न विशेष साधारणसभाले एकिकृत सहकारी संस्थाको नाम गुँहेली सञ्चार सहकारी रहने निर्णय गरेको हो ।
सहकारीको मर्मअनुसार उत्पादनमा केन्द्रित हुनेगरी तीन सहकारीका बीचमा एकीकरण भएको हो । एकीकृत सहकारीको कूल पूँजी रु ८९ लाख ९८ हजार ९२६ रहेको छ ।
साधारणसभाले भूमिश्वर उपाध्यायको अध्यक्षतामा नयाँ सञ्चालक समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सीता शर्मा, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा प्रसाद थापा, सहसचिवमा पार्वती शर्मा रहनुभएको छ ।
त्यस्तै सदस्यमा खिमबहादुर कार्की, ऋषिराम शर्मा, चित्रबहादुर कार्की, नवीन शिशिर, तारा थापा केसी र लक्ष्मी थापा रहनुभएको सो सहकारी संस्थाले जनाएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू