०७ पुष २०८२

विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

१५ बैशाख २०७६, आईतवार १२:५२ मा प्रकाशित

डोटी, १५ वैशाख ,,  जिल्लामा लामो समयदेखि काम गर्दै आइरहेका ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) नामक संस्थाले यहाँका सात स्थानीय तहलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री युकेएडको आर्थिक सहयोगमा सञ्चालित अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाले उपलब्ध गराएको हो । विपद् व्यवस्थापन सामग्री पाउनेमा दिपायल सिलगढी र शिखर नगरपालिका तथा आदर्श, सायल, बडिकेदार, पूर्वीचौकी र जोरायल गाउँपालिका छन् । संस्थाले सञ्चालन गरेको परियोजना क्षेत्रभित्रका स्थानीय तहलाई उक्त सामग्री हस्तान्तरण गरेको ग्रामीण विकास सेवा केन्द्र (आरडिएससी) का उपाध्यक्ष भरतबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना सञ्चालन गरिरहेका स्थानीय तहमा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेका छौँ, अन्य स्थानीय तहमा पनि क्रमिक रुपमा हस्तान्तरण गर्ने योजना छ ।”

हस्तान्तरण गरेका विपद् व्यवस्थापन सामग्रीमा प्रत्येक स्थानीय तहलाई पाँच फोल्डिङ स्ट्रेचर, चार स्लिपिङव्याग, तीन म्याट्रेस, दुई प्राथमिक उपचार किट बक्स, दुई जोडी हातेपञ्जा, एक अग्नि नियन्त्रक यन्त्र र एउटा हेडलाइट रहेको ग्रामीण विकास सेवा केन्द्रका अनुकूलन अधिकृत राजेश शर्माले जानकारी दिनुभयो ।

विपद्का बेलामा खोज तथा उद्दार गर्न सघाउ पु¥याउने उद्देश्यले झण्डै आठ लाख पाँच हजार बराबरको लगानीमा उक्त सामग्री प्रदान गरिएको अनुकूलन–एक्स÷ब्रेस्ड परियोजनाका कार्यक्रम संयोजक सुमन बलायरले बताउनुभयो ।

सो परियोजनाले लामो समयदेखि विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुसार अनुकूलन, कृषि, लघुवित्तिय क्षेत्र एवं पोषण र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । सन् २०१५ देखि डोटीमा सञ्चालन भईरहेको उक्त परियोजना आगामी जुन महिनादेखि समाप्त हुने जनाईएको छ ।

आपराधिक घट्नामा वृद्धि
मदिराजन्य पदार्थका कारण डोटीमा आपराधिक घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मदिराका कारण सामान्यदेखि जघन्य अपराधसम्मका घटना घट्न थालेपछि यहाँका स्थानीयवासीले मदिरा बिक्री वितरणमा कडाइ गर्नुपर्ने मागसहित निवेदन दर्ता गर्न थालेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी कार्यालयमा दर्ता हुने अधिकांश मुद्दा मदिरासम्बन्धी रहेका छन्, सबैले मदिरा नियन्त्रण गर्नुपर्ने माग गर्दै आएका छन् ।” मदिरा पिएर आपसी झै झगडा हुँदा हालसम्म दुई दर्जनभन्दा बढीले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चालू आर्थिक वर्षमा अहिलेसम्म ६० भन्दा बढी आपराधिक घटना दर्ता भएका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा घट्ने आपराधिक घटनामा मदिरा सेवन गरी सामूहिक कुटपिट गरेर मारेका, सामूहिक बलात्कार गरेका तथा गर्ने प्रयास गरेका, झुण्डिएर तथा हामफालेर आत्महत्या गरेका जस्ता घट्ना अत्यधिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । “हामीकहाँ जति मुद्दा दर्ता भए त्यसमा सबैभन्दा बढी घटनामा मदिरा प्रमुख कारण भएको छ” उहाँले भन्नुभयो, “पूर्णरूपमा मदिरा बन्द गर्न लागिपरेका छौँ तर पूर्ण बन्द गर्न सकेका छैनौँ ।”

अधिकांश वेरोजगार युवा एक ठाउँमा जम्मा हुने तथा मदिरा सेवन गरेर सङ्गठित रूपमा आपराधिक घटना घटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter