शनिबार, ०५ जेठ २०८१

औषधि बरामद

२८ चैत्र २०७५, बिहीबार १०:२० मा प्रकाशित

भद्रपुर, २८ चैत (रासस) : झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ ।

बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मे१०प १३३९ नंको मोटरसाइकलमा सवार दुवै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानमा जाँचको क्रममा औषधिसहित पक्राउ गरिएको हो ।

उनीहरु दुवैलाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र बरामद औषधि बुधबारै औषधि व्यवस्था विभाग विराटनगरलाई बुझाइने प्रवक्ता श्रेष्ठले बताउनुभयो । लागूऔषधसहित पक्राउ भद्रपुर नगरपालिका–५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागूऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो ।

पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ । यही चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको रु २२ लाख मूल्य बराबरको यौनवद्र्धक औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter