राँझा, २६ चैत ९र,, नेपालगञ्ज उपमहानगरपालिका– २० राँझामा अत्याधुनिक वनस्पति उद्यान निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारको योजनाअन्तर्गत स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहको खाली जग्गामा उक्त उद्यान निर्माण प्रक्रिया शुरु भएको हो । उद्यान निर्माण गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणा, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ र पशुपति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीबीच त्रिपक्षीय सहमति भइसकेको छ ।
उद्यान निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेर पठाइसकेको वन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । “उद्यान निर्माणका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख पठाइसकेको छ, निर्माण अगाडि बढिसक्यो”, उहाँले भन्नुभयो । उद्यानमा दुर्लभ, लोपोन्मुख र रैथाने वनस्पतिको संरक्षण तथा संवद्र्धन, यहाँको वातावरणसँग मेल नखाने जातका बिरुवालाई पनि हरितगृहमा राखेर विशेष हेरचाहका साथ राखिने, स्वदेशी शोभनीय फूल बिरुवा अनुसन्धान, मौसमी शोभनीय फूल बिरुवा बेर्ना उत्पादन, प्रदर्शनीस्थल स्थापना र शैक्षिक वाटिका व्यवस्थापन गर्ने उद्देश्य छ ।
उद्यानमा वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवं मनोरञ्जन गर्न आउन सक्नेछन् । उद्यानलाई शैक्षिक केन्द्रको साथसाथै पर्यापर्यटकीय क्षेत्रका रुपमा समेत विकास गरिनुका साथै उद्यानले वनस्पति र मानवबीचको युगौँदेखिको अन्योन्याश्रित सम्बन्धबारे पनि सचेत गराउन मद्दत गर्ने वन अधिकृत श्रेष्ठले बताउनुभयो । वनस्पति उद्यान वडा नं २० का लागि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने महत्वपूर्ण स्थल बन्ने वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ । उद्यान निर्माण समयमै सम्पन्न गर्न आफुले पनि चासो दिँदै आएको उहाँले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू