शनिबार, ०५ जेठ २०८१

स्वास्थ्य सेवा प्रभावित

२६ चैत्र २०७५, मंगलवार १४:४६ मा प्रकाशित

डोटी, २६ चैत ,, आदर्श गाउँपालिका वडा नँ १ चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो । एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि उडाएकोे बताइएको छ । छाना मर्मतसहित अन्य उपकरणको व्यवस्था मिलाइदिन स्थानीयवासीले आग्रह गरेका छन् ।

लाखौँको नोक्सानी हावाहुरीसँगै आएको असिनाले जिल्लाका विभिन्न ठाउँमा लाखौँको बालीनाली नोक्सानी गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका बडिकेदार, जोरायल, केआइसिंह, सायल, आदर्श, पूर्वीचौकी, बोगटानलगायत गाउँपालिका तथा शिखर नगरपालिका– १ मा ठूलो मात्रामा असिना परेको छ । असिनाका कारण सो क्षेत्रका सयौँ रोपनी खेतमा लगाइएको लाखौँको गहुँजौ खेती, तोरीबाली तथा तरकारीलगायत अन्यबालीमा ठूलो नोक्सानी पुगेको छ । असिना तथा हावाहुरीले जिल्लामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । सोमबार साँझ ५ बजेतिर आएको हावाहुरीसँगै परेको असिनाले पाकेर भित्र्याउनै लागिएको गहुँबालीमा बढी नोक्सान पु¥याएपछि यहाँका किसान भोकमरी हुने चिन्तामा परेका छन् ।

जिल्लाका लेकाली क्षेत्रमा गहुँ र तोरी खेतीमा आश्रित किसान असिना पानीले फुलेको तोरी र पाकेको गहुँमा क्षति पुगेपछि निराश भएका छन् । असिनाले किसानले लगाएका टमाटर, बन्दा, प्याज र काँक्रा खेतीमा समेत नोक्सानी पुगेको बताइएको छ । जोखिम न्यूनीकरणका योजना माग हुँदैनन् जिल्लामा विपद् जोखिम न्यूनिकरणका योजनामा माग नै नहुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले आफू निर्वाचित भएर आएदेखि हालसम्म कसैले पनि विपद् जोखिम न्यूनीकरणका योजना माग नगरेको बताउनुभयो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले पूर्वीचौकी गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवालासँग गरेको संवाद कार्यक्रममा अध्यक्ष बोगटीले मागै नभएका योजना बनाउन गाह्रो हुने बताउँदै भन्नुभयो, “गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि पास गरिसकेको छ, योजना चाहियो ।” उक्त गाउँपालिकामा विपद्का हिसाबले सङ्कटासन्न क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी गराइएको र विपद् व्यवस्थापनका लागि करीब रु १५ लाखको कोष स्थापना भएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

बस्तीस्तरबाटै विपद् जोखिम न्यूनीकरणसम्बन्धी योजना माग भएर आएमा निश्चित योजना बनाएर लागु गरिने पूर्वचौकी गाउँपालिकाका उपाध्यक्ष एवं योजना तर्जुमा समितिका अध्यक्ष निर्मला साउदले बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको कार्यक्रममा सामुदायिक विकास केन्द्रका कार्यक्रम अधिकृत सुरेश नाथले परियोजनाअन्तर्गत भइरहेका कार्यक्रमबारेमा जानकारी दिनुभएको थियो । सिडिसीले सञ्चालन गरिरहेको नेपाल विपद् जोखिम न्यूनीकरण परियोजना २०१८ फेबु्रअरीदेखि २०१९ सेप्टेम्बरका लागि डोटीका दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी, सायल र आदर्श गाउँपालिकामा सञ्चालन भइरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter