शनिबार, ०५ जेठ २०८१

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन

१ चैत्र २०७५, शुक्रबार १३:५२ मा प्रकाशित

बलेवा, १ चैत  ,, विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ ।

घना बस्ती रहेको बजार क्षेत्रमा नाङ्गो तारका कारण पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलिटेड केवल) तार प्रयोग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार नयाँ तारबाट वितरण हुने विद्युत् चुहावटको समस्यासमेत धेरै कम हुनेछ । बजारभित्रको वितरण लाइनको नाङ्गो तार सबै विस्थापन गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणको वार्षिक कार्यक्रमअनुसार नै बागलुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले बताउनुभयो । अहिले बागलुङ नगरपालिका–१ को १०, वडा नं २ को ८० र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । पहिले चार वटा तार हुनेमा इन्सुलिटेड तार एउटै हुने र त्यसमा पनि प्लास्टिकले बेरिएको हुने भएकाले कसैले छोए पनि विद्युतीय दुर्घटना नहुने प्रमुख पाण्डेले बताउनुभयो ।

प्लास्टिकले बेरिएको तार भएका कारण विद्युत् चुहावट हट्ने र हावाहुरी लाग्दा र पोल ढल्दा कुनै दुर्घटनाको सम्भावना नहुने उहाँले बताउनुभयो ।

अव्यवस्थित नाङ्गो तारले जोखिम हुँदासमेत प्राधिकरणले मर्मतसम्भारका लागि बेवास्ता गरेको सर्वसाधारणको गुनासो बढेकाले यसलाई व्यवस्थापन गर्न थालिएको बागलुङ नगरपालिका–२ का पूर्वाधार संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो । तारको व्यवस्थापन गर्नेे काम प्राधिकरणको भए पनि वडा कार्यालयले यसमा चासो देखाएको छ । आगामी एक महीनाभित्र सबै तारको व्यवस्थापन गरेर नया इन्सुलिटेड तारमार्फत उपभोक्ताको घर घरमा विद्युत् प्रवाह गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

गर्भजाँचमा अण्डा वितरण

बागलुङ नगरपालिका–५ मालिकाले स्वास्थ्य संस्थामा नियमित परीक्षण गर्न आएका महिलालाई अण्डा वितरण गर्न थालेको छ । दुई महीनाअघि देखि शुरु भएको यो अभियानमा अहिलेसम्म २७ जनाले सेवा लिइसकेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताउनुभयो ।

सरकारी नियमानुसार एउटा गर्भवती महिलाले गर्भअवधि भर कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गर्नुपर्छ । उनीहरुको शरीरमा पोषणको मात्रा पु¥याउन सजिलो होस् भनेर वडा कार्यालयले विनियोजन गरेको स्वास्थ्यको बजेटबाट यो सेवा दिएको हो । चालू वर्षका लागि वडाले रु ५० हजार यो शीर्षकमा छुट्याएको हो ।

सुआहारा कार्यक्रमले महिलाको स्वास्थ्य सुधारका लागि नियमित पोषण खुवाउने परामर्श गर्दै आएको थियो । चालू वर्षका लागि भने बजेट छुट्याएर अण्डा वितरण गर्न थालिएको हो ।

स्थानीय स्वास्थ्य चौकी र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले यो अभियानमा सघाएका छन् । अहिलेसम्म यो वडाले २७ महिलालाई नियमित अण्डा दिइएको स्वास्थ्यचौकी प्रमुख महेन्द्र शर्माले बताउनुभयो । यो सेवा पाउन थालेपछि सदरमुकामस्थित बागलुङ बजारमा डेरा लिएर बसेका, माइतमा बसेकाहरु पनि अण्डा पाउने आशले नियमित स्वास्थ्य परीक्षणका लागि आएको शर्माले बताउनुभयो । यो सेवाले गर्भवतीमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गरेको स्थानीय भगवती रेग्मीले बताउनुभयो ।

“सेवा सुविधा पाउने आसले नियमित परीक्षणमा आएकी हुँ,” उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले हरेक दिन सागपात, गेडागुडी र दूध तथा माछामासु खान पनि सल्लाह दिएका छन् ।” महिलाको पेटमा गर्भ बसेदेखि शिशु जन्मेको दुई वर्षसम्म उचित पोषणको मात्र पु¥याउन सकियो भने शिशुको बौद्धिक र शारीरिक क्षमता राम्रो बन्ने शर्माले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter