शुक्रबार, ०४ जेठ २०८१

दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

नारायण अधिकारी 

३ फाल्गुन २०७५, शुक्रबार ११:२७ मा प्रकाशित

चितवन, ३ फागुन  ,,  जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नुपरेको हो ।

विसंं २०६७ बाट माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मजवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक दरबन्दी नै छैन । तर त्यहाँ माध्यमिक तहको पठनपाठन भने हुँदै आएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने सो विद्यालयमा माध्यमिक तह सञ्चालनका लागि दातृ संस्था खोज्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक देवकुमार बस्नेतले बताउनुभयो ।

दातृ संस्था खोजे पनि दिगो रूपमा नहुने भएकाले समुदायको भर पर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । शिक्षक दरबन्दी नहुँदा प्रावि र निमावि तहका शिक्षकलाई पठनपाठनका लागि जिम्मा दिनुपर्ने बाध्यता रहेको बस्नेतले बताउनुभयो । माध्यमिक तहको शैक्षिक योग्यता नभए पनि उहाँहरुले जेनतेन पढाइ रहनुभएको छ ।

यस्तै समस्यामा रहेको छ माडी नगरपालिका–९ कृष्णनगरमा रहेको कृष्णनगर माध्यमिक विद्यालयको पनि । विसं २०६८ देखि माध्यमिक तहको पठनपाठन शुरु गरी एसइई परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयमा अहिलेसम्म माध्यमिक तहको दरबन्दी छैन । जसका कारण विद्यालय सञ्चालनमा समुदायको भर पर्नुपरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ सुवेदीले बताउनुभयो ।

“अहिले विद्यालयमा मावि तहको दरबन्दी छैन, निमावि र निजी स्रोतका शिक्षकबाट काम चलाउनुपरेको छ”, उहाँले भन्नुभयो । माध्यमिक विद्यालय सञ्चालनका लागि विद्यालय विकास शुल्क भनेर विद्यार्थीसँग थप शुल्क उठाउने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा यस्तो समस्यामा ७६ विद्यालय रहेका छन् जहाँ तल्लो तहको दरबन्दीमा रहेका शिक्षकले माथिल्लो तहसम्म हेर्नुपर्ने र सञ्चालनका लागि समुदाय वा दातृ संस्थाको भर पर्नुपर्ने बाध्यता छ । शिक्षा विकास समन्वय एकाइ चितवनले दिएको जानकारीअनुसार जिल्लामा रहेका २२ माध्यमिक विद्यालय र ५४ निम्नमाध्यामिक विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको छ । माध्यमिक तह सञ्चालनमा रहेका शहरदेखि गाउँसम्मका २२ विद्यालयमा अहिलेसम्म एउटा पनि दरबन्दी दिन नसकेको एकाइका प्रमुख दीपेन्द्र सुवेदीले बताउनुभयो । निम्न माध्यमिक विद्यालयमा पनि यस्तै समस्या रहेको उहाँले बताउनुभयो ।

सरकारले दरबन्दी निकासा नगर्दा आवश्यक मात्रामा शिक्षक पठाउन नसकेको सुवेदीले बताउनुभयो । माध्यमिक तहको अनुमति लिएर सञ्चालन गरिएका विद्यालयमा न्यूनतम सोही तहका पाँच शिक्षकको दरबन्दी हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै निम्न माध्यामिक तहमा सोही तहको चार जनाको दरबन्दी हुनुपर्ने व्यवस्था रहेको छ ।

शिक्षक दरबन्दी पर्याप्त नहुँदा तल्लो तहका शिक्षकलाई उपल्लो तहसम्मको जिम्मेवारी दिन बाध्य भएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले दरबन्दी व्यवस्था गर्न सकेको छैन, जसका कारण माध्यमिक विद्यालयका निम्नमाध्यमिक तहको दरबन्दीले पठनपाठन सञ्चालन गरिरहेका छन् ।” कतिपय विद्यालयमा योग्यता नपुगेका शिक्षकले समेत माध्यमिक तहसम्म पठनपाठन गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

विद्यालयमा योग्य शिक्षकको अभाव हुँदा शिक्षाको गुणस्तर खस्कने उहाँले बताउनुभयो । जिल्लामा हाल २६१ आधारभूत तह (प्रावि र निमावि) र ९८ माध्यमिक तहका सामुदायिक विद्यालय रहेका छन् । आधारभूत तहमा ५३ हजार ७२० र मावि तहमा १४ हजार ६७१ विद्यार्थी अध्ययनरत छन् ।

प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा

प्रदेशस्तरीय खेलकूद प्रतियोगिताअन्तर्गत प्रदेश नं ३ को खेल फागुन ६ गतेदेखि चितवनमा हुने भएको छ । भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

जिल्ला खेलकूद विकास समिति चितवनले बिहीबार गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गङ्गालाल लामाले प्रदेश खेलकूद परिषद्को आयोजनामा प्रतियोगिता हुनलागेको जानकारी दिनुभयो । चितवनमा एथलेक्टिस र उसु खेल हुनेछन् । अन्य खेल प्रदेश नं ३ कै विभिन्न जिल्लामा आयोजना हुने गरी खेलको संयोजन गरेको खेलकूद विकास समिति चितवनले जनाएको छ ।

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा छनोटका लागि प्रदेशस्तरमा खेल हुन लागेका हुन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल नुवाकोटमा, महिला फुटबल सिन्धुपाल्चोकमा, भारोत्तोलन, क्रिकेट, बास्केटबल, टेबलटेनिस, लनटेनिस काठमाडौँमा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि जिल्लाबाट १९९ खेलाडी छनोट भएका छन् । चितवनमा हुने एथलेक्टिस प्रतियोगितामा प्रदेशका २६० खेलाडी सहभागी हुनेछन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter