आइतबार, २३ बैशाख २०८१

दर्शकको मन जित्दै उदाए गायक अमृत

कालिका खड्का 

२७ माघ २०७५, आईतवार १२:२३ मा प्रकाशित

काठमाडौँ, २७ माघ   ,,
‘हिँड्छेउ माया तर्की तर्की,
अन्तै माया लाउने मन छर्की,
तिमी जुन, मिती हौ तारा,
हुने हो कि आँशुको नौ धारा’

गायक अमृत खाती र गायिक उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले निकै रुचाएका छन् ।

दोलखा जिल्लाको सुस्पा क्षमावती गाविस (हाल भीमेश्वर नगरपालिका १) मा २०४० मङ्सिर २५ गते जन्मिनु भएका गायक खातीले अहिलेसम्म लोक, प्रगतिशील, आधुनिक, निर्वाचनका गीत गरी १५० भन्दा बढी गीत गाइसक्नु भएको छ ।

आफूलाई लोकगायक भन्न रुचाउने गायक खातीले धेरै गीत भने लोक भाकामै गाउनु भएको छ । उहाँको ‘शिरबन्दी शिरैमा’ पहिलो एल्बम हो । त्यो गीत पनि लोक भाषामा थियो । गायक खातीले त्यो गीत यसरी सुनाउनुभयो ।

‘भट्ट हेर्दा स्वर्गकी परी
यो कान्छीको मन पाउनु कसरी,
तरकारी आलु सिमीलाई,
अब मत ज्यान गए छोडदिन मन पर्यो कान्छी तिमीलाई ।’

युवा गायक खातीले आफ्नो जीवनमा धेरै गीत गाउनुभयो । तर उहाँलाई सबैभन्दा मन पर्ने गीत आफ्नो जिल्लाको गीत गाउँदा लागेको छ । जुनमा यस्तो छ,
‘हाम्रै कालिन्चोक,
घुम्न जाउँ सरर, दोलखा चरिकोट’

“यो गीत लेख्दा र गाउँदा जति आनन्द मलाई कहिल्यै आएन, जन्मेको माटोप्रति समर्पित भएर गाएको गीत हो, यो गीत सुन्दा आनन्द लाग्छ,” गायक खातीले भन्नुभयो, “यो गीतले दोलखाको पर्यटकीय, धार्मिक तथा सबै स्थानको बारेमा जानकारी दिएको छ ।” दोलखा प्रत्येक स्थान गीतमा समेटिएको हुनाले यो गीत सम्पूर्ण दोलखालीको मनमा बस्न सफल हुनु भएको छ भने दोलखा जाने पर्यटकलाई राम्रो जानकारी दिएको छ ।

गायक खातीले निर्वाचनका समयमा निर्वाचनसम्बन्धी निकै गीतहरु गाउनुभयो । वर्तमान केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताका लागि निर्वाचनको गीत गाउनुभयो । निर्वाचनका गीतमध्ये निकै चर्चित यो गीत बन्यो–
‘भन्छन् सधैँ आमा र बाले,
प्यारो पार्टी नेकपा एमाले ।’
स्थानीय तहका निर्वाचनमा उहाँले ७८ वटा गीत गाउनुभएको थियो । जसमध्ये निकै लोकप्रिय गीत त्यो गीत बन्यो । यहाँले नेपाली युवालाई नेपालमै व्यवसाय गरेर बस्न प्रेरित गर्ने पनि धेरै गीत गाउनुभएको छ ।
‘गाउँगाउँमा सहकारी थप्दै रोजगारी,
समान हक पाउनुपर्छ,
पुरुष अनि नारी’
चर्चित गायिका मधु गुरुङ र गायक खातीले गाउनुभएको गीत हो त्यो । साना किसानसँग सम्बन्धित भएर उहाँले निकै सहकारीका गीतहरु गाउनुभयो ।

‘हाम्रो देशको जलस्रोतले सारा नेपाल बल्छ,
दुःख गरे हाम्रो देशमा हीरा मोती फल्छ’
कुरा बुझौँ नेपाली दाजुभाइ,
दिगो शान्ति चाहिएको छ हामीलाई’

चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ‘ओके छ त’ भन्ने हो । जसलाई धेरैले थेगोका रुपमा प्रयोग गरेका छन् । जुन गीत यस्तो छ ।
‘चोखो माया तिमीलाई नै गर्छु मत,
ओके छ त छ,
तिमीसँगै जीउछु अनि मर्छु मत ओके छ त’

सुस्पा क्षमावती माध्यामिक विद्यालयमा पढ्दादेखि नै गुरु नवराज शिवाकोटीको प्ररणाबाट साङ्गीतिक क्षेत्र सुरु गर्नुभएका उहाँले २०५७ सालमा एसएलसी पास गरेपछि पनि सङ्गीतको क्षेत्रलाई निरन्तरता दिनुभयो । पाटन क्याम्पसमा आइए, मीनभवन नेपाल कमर्श क्याम्पसबाट वीए पढ्नुभएका गायक खातीले सङ्गीतका यात्रालाई भने छोड्नु भएन ।

उपत्यका सांस्कृतिक सङ्गठन, साधना कला केन्द्रमा सङ्गीत सिकेर समानताका लागि सांस्कृतिक अभियानमा पनि उहाँ लाग्नुभयो । विसं २०५९÷६० तिर दोहोरी साँझमा गीत गाउन शुरु गरेर उहाँले औपचारिक रुपमा क्षेत्रमा लाग्नुभयो ।

उहाँले गीत गाएर नै आफ्नो परिवार पाल्नुभएको छ । “खास गीत गाएर कमाइ हुदैन, मेला महोत्वसमा विवाह, पूजा, जात्रामा कलाकार चाहिने संस्कारले कमाउने अवसर बनेको छ”, गायक खातीले भन्नुभयो, “स्टेज कार्यक्रमकै लागि मेची महाकाली पुगेको छु, जिल्लामा म पुगेको छु, सन्तुष्ट छु ।” उहाँले अहिलेसम्म १५ सयभन्दा बढी स्टेज कार्यक्रम चलाइसक्नु भएको छ ।

सङ्गीत यात्रामा नेपालमा मात्र होइन, नेपाली रहेका धेरै विदेशी भूमिका समेत गरेर गीत गाउनु भएको छ । उहाँले इजरायल, जापान, कतार, दुवई, कुवेत, मलेशियामा गएर गीत गाउनुभएको छ ।

सङ्गीतको यात्रामा उहाँले विन्दबासिनी म्युजिक अवार्ड वर्ष २०७२ उत्कृष्ट गायकको अवार्ड पाउनुभयो । २०७३ सालमा पाउन म्युजिक अवार्डको बेष्ट कम्पोजरको अवार्ड पाउनुभयो । मलेशियामा भएको इन्टरनेशनल अवार्डमा उत्कृष्ठ लोकदोहरी गायकको अवार्ड पनि उहाँले हात पार्नुभयो ।

सङ्गीत रोयल्टी समाजका सदस्य समेत रहनुभएका गायक खातीले लोकगीतबाहेक दुईवटा आधुनिक गीत पनि गाउनुभएको छ । जुन दर्शकले निकै रुचाएका छन । गीत यस्तो छ–
‘किन टाढा हुन्छे तिमी,
तिम्रो मन दुखाए कि,
भन्नु पर्ने केही कुरा तिमीसँग लुकाए कि’

लोक र प्रगतिशील गायनमा बढी पोख्त देखिएका गायक खातीको आगामी दिन पनि सङ्गीतका क्षेत्रमा निरन्तरता दिने योजना छ । (तस्विर उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter