२५ चैत २०८२

कमल थापाको ट्विटमाथि पूर्वमन्त्री हुसैनको आपत्ति

२८ पुष २०७५, शनिबार १८:१४ मा प्रकाशित

 

राप्रपा अध्यक्ष कमल थापाले ट्विट गरेर मुहम्मद दिवसको दिनमा सरकारले प्रस्तावको रूपमा ल्याएको सार्वजनिक बिदाको बिरोध गरेको भन्दै पूर्व मन्त्री मोहम्मद जाकिर हुसैनले आपत्ति जनाएका छन् ।

पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री हुसैनले “हुन त विदा पुनस्र्थापना भएको निर्णय सरकारले गरिसकेको छैन तर हिजो ईद, बक्रईद, मुहम्मद दिवस, उभौली, छठ आदिको विदा कटौति हुँदा एक शब्द न बोलेका कमल थापाले पृथ्वीनारायण शाहकै शैलीमा सरकारलाई अपमानको मूल्य महंगो पर्नेछ, चेतना भया भनेर लल्कार्न सुहाउँदैन” भनेर उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आफ्नो अफिसियल फेसबुकमा हुसैनले “धार्मिक स्वतन्त्रतासहितको हिन्दू राज्यलाई निर्देशक सिध्दान्त बनाएको पार्टीको अध्यक्षले आफ्नो व्यवहार र रबैयाबाट मुस्लिम र ख्रीष्टियन समुदायका नेपाली जनतालाई अपमान गरेको ठहर्दैन र ? हिजो ईद, बक्रईद, उभौली, छठको विदाबारे न बोल्ने र आज चेतना भया भनेर गर्जने ?” भनेर अध्यक्ष थापालाई प्रश्न गरेका छन् ।

हुसैनले कमल थापाको अभिव्यक्तिले आफ्नो समुदायको स्वाभिमानमा ठेस पुगेको र मानमर्दन भएको आरोप लगाएका छन् । उनले किटेर मुस्लिम र ख्रीष्टियनलाई औंला ठड्याउनुलाई सामुदायिक अपमानको रुपमा लिएका छन् । नेकपाका नेता हुसैन राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव समेत हुन् ।

त्यस्तै दुबईबाट नयाँ शक्ति पार्टीका युवा नेता मुन्ना शम्सुल हकले ट्विट गरेका छन्, “कमल थापाले विभिन्न नयाँ विदाहरूको फेहरिस्त देखाएर विवाद खडा गरी मुस्लिम समुदायको विदा स्थापित हुन नदिन यो बहना झिकेको हो ।” “सरकारलाई महंगो मूल्य चुकाउनु पर्ने भन्दै धम्क्याउने कमल थापाको औकात जनताले चुनावमै देखाइदिए, पूर्व राजासँगको साँठगाठमा उनी फेरि गर्जनुको कुनै औचित्य छैन ।” उनले लेखेका छन् ।

“७० वर्षको आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्र आएको हो कमल थापा जी, बरु तपाईंलाई पो चेतना भया ।” हकले ट्विटरमा लेखेका छन् ।

रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी फोरमका युवा नेता मेराज अहमदले फेसबुकमा लेखेका छन्, “यो महासय पनि अब धार्मिक उन्मादको कुरा गरेर आफूलाई योगी साबित गर्न चाहन्छन् । जसले हिन्दू, मुस्लिम, जनजाति, बौद्ध, शिख, इसाईको धार्मिक पर्वबिदा कटौतीमा एक शब्द बोलेनन् तिनलाई यो बोल्ने हक छैन । यिनी पनि एक पार्टीको प्रमुख हुन् । बिदा कटौती हुँदा आफूले बहालीको लागि कति प्रयास गरेका छन्, सवैलाई थाहा छ, चेतना भया !”

राप्रपा अध्यक्ष कमल थापाले ट्विटरमा ट्विट गर्दै अल्पसंख्यकलाई रिझाउन बहुसंख्यकको अपमान गरेको भन्दै सरकारलाई महंगो मूल्य चुकाउनुपर्ने भन्दै धम्क्याएका छन् । उनले ख्रीष्टियन र इस्लाम धर्मका संस्थापकहरूको जन्मदिवसमा विदा दिने सरकारले पृथ्वीजयन्ति, कृष्णजन्मास्टमी र रामनवमीमा विदा नदिएको भनी आक्रोस पोखेका छन् ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter