बिहिबार, ०३ जेठ २०८१

चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर

११ पुष २०७५, बुधबार १०:०९ मा प्रकाशित

बेझाड, ११ पुस,, माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् ।

घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार नियोजनको पाँच वर्षे अस्थायी साधन इम्प्लान्ट सेवा र आइयुसिडी सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सरसम्बन्धी १३९ जनाले स्वास्थ्य परीक्षण गराएकामा १३३ जनाको शिविरमा उपचार गरिएको थियो । छ जनालाई परीक्षणका लागि अन्यत्र रिफर गरिएको चिदीले बताउनुभयो । दुसई सय पाँच जनाले अस्थायी परिवार नियोजनको साधन इम्प्लान्ट सेवा र चार जनाले आइयुसिडी सेवा लिएका छन् । गाउँमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि यहाँका महिलालाई ठूलो सहयोग मिलेको छ ।

गाउँघरमा अझैपनि रोग लुकाएर बस्ने र स्वास्थ्य संस्थामा पुगेर परीक्षण नगराउने प्रबृत्ति छ । बेला बेलामा हुने यस्ता शिविरमार्फत महिलाले आफ्ना समस्या खुलेर राख्ने गर्छन् । यहाँका महिलामा पाठेघरको समस्या अत्यधिक छ । स्वास्थ्य संस्थाको पहुँचदेखि टाढा रहेका र आर्थिक अभावमा उपचारमा समस्या झेल्दै आएका विपन्न र दलित महिलालाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।

“बेला बेलामा गाउँ बस्तीमै पुगेर स्वास्थ्य शिविरमार्फत उपचार सेवा दिँदै आएका छाँै,” उहाँले भन्नुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य परीक्षण तथा औषधी उपचार सेवा प्रदान गर्दै आएको छ । शिविरमा जिल्ला अस्पताल र परिवार नियोजन सङ्घका तालीम प्राप्त स्वास्थ्यकर्मीको टोली संलग्न थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter