मुसिकोट, ४ मङ्सिर,, रुकुम(पश्चिम)को मुसिकोटमा साहित्यकारको जमघट भएको छ ।
यहाँस्थित राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले आज यहाँ चारदिने साहित्यिक भ्रमण तथा सिर्जनशील लेखन कार्यक्रम गर्दैछ । रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसँगै सिर्जनशील लेखन तथा प्रशिक्षण दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखा अध्यक्ष मनलाले ओलीले बताउनुभयो ।
आज पहिलो दिन बिहान ७ बजे यमुना नन्द नमूना माविको सेरीगाउँमा रहेको पारिजातको मूर्तिमा माल्यार्पण गरी कार्यक्रमको शुरुआत गरिएको छ । त्यसलगत्तै मुसिकोट बहुमुखी क्याम्पसमा पुगेर सिर्जनशील लेखन कक्षा उद्घाटन र लक्ष्मीप्रसाद देवकोटाको मूर्तिमा माल्र्यापण गरिएको छ ।
कार्यक्रममा घोष्ट राइटिङ नेपालको संयोजन छ । अभियानमा सहभागी साहित्यकारको टोलीले यहाँको डिग्रेमन्दिर, जन्ती बस्ने लेक, बहुमुखी क्याम्पस, साँखको ठूलीदहलगायत स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने भएको छ । त्यस्तै जिल्लाका त्रिवेणी, बाँफीकोट र चौरजहारी र रुकुम पूर्वको रुकुमकोटमा पनि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अभियानले रुकुम पूर्व र पश्चिमका विभिन्न पर्यटकीयस्थलमा पुगेर साहित्यिक लेखरचना वाचन, अवलोकन तथा कविका मूर्तिमा माल्यार्पण पनि गर्ने भएको छ ।
सो साहित्यिक अभियानमा आख्यानकार नयनराज पाण्डे, निबन्धकार युवराज नयाँघरे, पत्रकार अश्विनी कोइराला, घोष्ट राइटिङका कमल ढकाल, कवि भूपिनलगायत जिल्लाका प्रसिद्ध लेखक तथा साहित्यकार एवं राप्ती साहित्य परिषद् जिल्ला शाखाका पदाधिकारीको पनि सहभागिता रहने बताइएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू