शनिबार, २२ बैशाख २०८१

थारू र मधेसी समुदायमा पनि दशँैको उत्साह

२४ आश्विन २०७५, बुधबार १९:१० मा प्रकाशित

बुटवल, २४ असोज ,,    रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् ।

आजदेखि शुरु भएको नवदुर्गामा उनीहरुले रुपन्देहीका विभिन्न ठाउँमा बाजागाजासहित नवदुर्गालगायतका भगवान्को प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको छ ।

जिल्लाको सैनामैना नगरपालिका, शुद्धोदन गाउँपालिका, कञ्चन गाउँपालिका, सियारी गाउँपालिकालगायतका विभिन्न स्थानमा दुर्गा भवानी, श्री गणेश, कार्तीकेय, लक्ष्मी, सरस्वतीको प्रतिमा पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको शुद्धोदन गाउँपालिका–१ सिसैका स्थानीय बाबुराम पालले जानकारी दिनुभयो ।

उहाँले थारू तथा मधेशी समुदायले दशँैको टीका ग्रहण नगरे पनि हिन्दू परम्पराअनुसार पूजाआजा गरेर मन्दिरमा नै भगवान्को टीका ग्रहण गरिने उल्लेख गर्नुभयो ।

स्थानीय पालले भन्नुभयो, “नवदुर्गा शुरु भएको दिनदेखि नौ दिनसम्म फलफूल तथा कन्दमूल खाएर दुर्गा भवानीको पूजा गरे सु–स्वास्थ्य, दीर्घायु, धनधान्य हुने धार्मिक विश्वास छ ।”

सैनामैना नगरपालिका–५ स्थित बक्सडमा थारू समुदायले बाजागाजासहित आज बर्दियाको गुलरियामा निर्मित दुर्गा भवानीलगायतका भगवान्को प्रतिमा स्थापना गरी पूजाआजा शुरु गर्न थालेका छन् ।

बाँस, पराल, काँटी, कपडालगायतका विभिन्न वस्तुबाट निर्मित प्रतिमामा कालीगढले दुर्गा भवानीको प्रतिमामा लगाएको कालोपट्टि खोल्न होडबाजी हुने स्थानीय फौजदार थारूले जानकारी दिनुभयो ।

उहाँले रु १५ हजारदेखि रु ५० हजारसम्म शुल्क तिरेर दुर्गा भवानीको कालोपट्टि खोल्ने र त्यसको पहिलो रोशनी जसलाई पर्छ त्यसको सबै मनोकामना पूरा हुने विश्वास रहेको छ । स्थानीय थारूले स्थापना गरेको सो प्रतिमामा थारू समुदायबाहेक अन्य मगर, ब्राह्मण, क्षेत्री समुदायका व्यक्तिले पनि पूजाआजा गर्ने बताउनुभयो ।

“हामीले दशैँको दिनमा टीका र जमरा लगाउँदैनाँै तर भगवान्प्रतिको आस्था अटुट छ” थारू समुदायका अगुवासमेत रहनुभएका फौजदारले भन्नुभयो । सो प्रतिमाका लागि रु एक लाख खर्च हुने र त्यसको खर्च सामाजिक रुपमा उठेको रकम लगानी हुने बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter