बुधबार, ०२ जेठ २०८१

चार सय घरमा गोबर ग्यास प्लान्ट

१५ आश्विन २०७५, सोमबार १४:१८ मा प्रकाशित

कञ्चनपुर, १५ असोज ,,    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन । ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन ।

वातावरण सामुदायिक वनको अनुदान रकममा उहाँले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गर्नुभएको छ । घरमै पालिएका चौपायाको गोबर उहाँले दैनिक गोबर ग्यास प्लान्टमा राखी त्यसबाट आउने ग्यासबाट खाना पकाउने गर्नुहुन्छ ।

निकै टाढाबाट वन रक्षकको आँखा छिचोल्दै विगतमा दाउरा ल्याउनुपर्ने हुन्थ्यो उहाँले भन्नुभयो, “गोबरग्यास प्लान्ट राखेपछि दाउराको झन्झट हटेको छ । भान्सामा सहजै खाना पाक्ने गरेको छ ।” दाउरा ल्याउने श्रम खेतबारीमा लगाई अतिरिक्त आम्दानी हुँदै आएको उहाँले बताउनुभयो । गोबर ग्यासबाट निस्केको मल खेतबारीमा हाल्न थालेपछि बालीनाली समेत सप्रिएको छ उहाँले भन्नुभयो, “विगतको तुलनामा अन्नको उत्पादन बढेको छ ।”

उहाँजस्तै सामुदायिक वनबाट अनुदान रकम लिएर गोबर ग्यास र शौचालय बनाएका दिलबहादुर धानुक शौच गर्नका लागि विगतमा वन छेउ, सडक, खेतका आलीमा जानुपर्ने दिन सम्झिँदै भन्नुहुन्छ, “गोबर ग्यासबाट खाना पकाउन सहज त भएको छ ।

शौचालय जडानले खेतका आली र वनमा शौच गर्न जाने दिनको समेत अन्त्य भएको छ ।” घरमै शौचालय भएपछि विगतको जस्तो खुला ठाउँमा दिसापिसाब गर्दा लाग्ने रोगको सङ्क्रमणसमेत नभएको उहाँको भनाइ रहेको छ । सामुदायिक वनका अधिकांश बासिन्दा घरायसी इन्धनका लागि वनमाथिनै निर्भर रहेका थिए स्थानीय प्रकाश धानुकले भन्नुभयो, “सबैका घरघरमा गोबर ग्यास र शौचालय जडान भएपछि वनमाथिको निर्भरता हटेको छ । सबै जनाको शौचालयमा शौच गर्ने बानीले वातावरणसमेत स्वच्छ भएको छ ।”

दाउराजस्तो गोबर ग्यासमा धुवाँ नआउने भएकाले समेत विगतमा गृहणी र बालबालिकामा देखिँदै आएको श्वासप्रश्वासको समस्यासमेत हटेर गएको स्थानीय मीना धामीले बताउनुभयो । गोबर ग्यासको जडानले स्वस्थ रहन मद्दत पुग्ने उहाँले भन्नुभयो, “गोबर ग्यासको मलले तरकारी खेती र अन्नबालीको उत्पादन बढ्दा आर्थिकरुपमा समेत सवल बनाएको छ ।”

गोबर ग्यासमा गोबरको मात्रा पूरा गर्नका लागि अधिकांश बासिन्दाले उन्नत नश्लका गाई र भैँसीसमेत पाल्न थालेपछि दूध बिक्री गरी आम्दानीसमेत लिन थालेका छन् । वनमा मानव प्रवेशमा कमी आएपछि अतिक्रमणका कारण नासिँदै गएको वन हराभरा मात्रै भएको छैन सामुदायिक वनका कोषाध्यक्ष प्रेमबहादुर धानुकले भन्नुभयो, “जीवजन्तुको आश्रयस्थलका रुपमा परिचितसमेत हुन थालेको छ ।”

सामुदायिक वनले गोबर ग्याससहितको शौचालय बनाउने परिवारलाई रु दुई हजार अनुदान रकम दिने गरेको छ । रु दुई हजारमा बाँकी रकम उपभोक्ताले थपेर शौचलय जडित गोबर ग्यास प्लान्ट बनाउने गरेका छन् ।

अनुदान रकम पाउने परिवारले गोबर ग्यासमा शौचालय अनिवार्य जडान गर्नुपर्ने सामुदायिक वनले नियम बनाएको छ । गोबर ग्यास र शौचालय बनाउने चारसय बढी परिवारलाई रु आठ लाख ८४ हजार रकम अनुदानस्वरुप उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताउनुभयो ।

अनुदानका लागि अझै तीन दर्जन बढी परिवारले सामुदायिक वनमा निवेदन दिएका छन् । सामुदायिक वनले दाउरा, काठ र बाँस बिक्री गरी उपभोक्तालाई शौचालय जडित गोबर ग्यास प्लान्ट जडानका लागि अनुदान रकम जुटाउने गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter