शुक्रबार, २१ बैशाख २०८१

हावाबाट बिजुली : जिम्मेवारी कसको

९ आश्विन २०७५, मंगलवार १३:२३ मा प्रकाशित

बाँके, ९ असोज ,,   बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ ।
जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज भएको थियो । खारेज हुनुपूर्व उक्त शाखाले नै खजुरामा टावर राखेर हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन शुरु गरेको थियो । शाखा खारेजीसँगै हावाबाट बिजुली निकाल्न अध्ययन थालिएको उक्त संरचनाको अध्ययन कसले गरिरहेको छ भन्नेमा कसैलाई जानकारी छैन ।
नियमन गर्ने निकाय नै नभएपछि हावाबाट बिजुली निकाल्नका लागि करीब एक वर्षअघि जडान गरिएका उपकरण प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन् । लाखौँ खर्चेर बिजुली निकाल्नका लागि ८० मिटर अग्लो पाँच पङ्खा भएको उपकरण जडान गरिए पनि अध्ययन नै प्रभावकारी नभएपछि उपकरण बेकामे भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन शाखाले एशियाली विकास बैंकको सहयोगमा मध्य तथा सुदूरपश्चिम नेपालका जिल्लामा हावाको वेग र दिशा मापन गर्न उक्त उपकरण जडान गरेको थियो । क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा करीब एक वर्षअघि उक्त उपकरण जडान गरिए पनि अहिलेसम्म हावाबाट बिजुली निकालेको आफूहरूले थाहा नपाएको क्षेत्रीय कृषि तालीम केन्द्रका कर्मचारीको भनाइ छ ।
जिससका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले पनि सोबारे अनभिज्ञता प्रकट गर्नुभयो ।
“उपकरण जडान भएको वर्ष दिन हुँदासम्म न कोही मान्छे आउँछन् न बिजुली नै निस्किएको छ, ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी बालुवामा पानीझै देखिएको छ”, क्षेत्रीय कृषि तालीम केन्द्रका एक कर्मचारीले भन्नुभयो, “टावर मात्रै ठडिएको छ ।” प्राविधिक रूपमा सहयोग गर्ने भन्दै आएको वैकल्पिक ऊर्जा केन्द्रले अध्ययन भइसकेका ठाउँमा हावाबाट विद्युत् निकाल्न यसअघि प्रतिमेगावाट करीब रु दुई करोडका दरले सरकारसँग बजेट माग गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter