आइतबार, १६ बैशाख २०८१

धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब

१९ भाद्र २०७५, मंगलवार २३:०१ मा प्रकाशित

रियाद, साउदी अरब, १९ भदौ ,,   साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकार निकट अन्य सञ्चारमाध्यमले बिस्तृत विवरण नदिइकनै जानकारी गराएका छन् ।
अवदा लगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो ।
यसबारे सरकारी अभियोजकको कार्यालयले कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
मध्यपूर्वी मानव अधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्वीटमार्फत् भन्नुभएको छ, साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन् । यसबारे बिस्तृत विवरणहरू भने आइसकेका छैनन् ।
उहाँले भन्नुभयो, “यस किसिमका मुद्दामा मृत्युदण्ड दिने भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो ।”
अल–अवदा जेलमा बिरामी बनेपछि पश्चिमी शहर जेदाहका उपचाररत हुनुहुन्छ । उहाँलाई जेलमा पाँचमहिनासम्म जेलमा एकान्तमा राखेको उहाँका पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेशनलले जनाएको छ ।
उहाँलाई परिवार लगायतका कसैसँग भेट्ने अबसर नदिइएको मानव अभिकारवादी संघसंस्थाहरूले जनाएका छन् ।
एम्नेष्टी इन्टरनेशनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनःमिलनको सूचनालाई स्वागत गरी ट्वीट गरेको केही घण्टामा अवदालाई पक्राउ गरिएको थियो ।
साउदी अरब लगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कुटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter