बुधबार, १९ बैशाख २०८१

भारतीय दूतावासका कारण विद्यालय पुनःनिर्माण भएन

२ भाद्र २०७५, शनिबार १५:२९ मा प्रकाशित

धादिङ, २ भदौ , भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् ।

पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए पनि जिल्लामा फर्केर नआउँदा १० विद्यालयको पुनःनिर्माणको काम अलपत्र परेको हो ।

सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दूका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, बृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर उक्त दूतावासले एक वर्षभित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो ।

निर्माण भइसक्नुपर्ने बेलासम्म पनि राजदूतावासले जिम्मेवारीअनुसार काम शुरु नगरेको र काम गर्ने वा नगर्ने कुनै जानकारी नदिँदा अन्य निकायले समेत ती विद्यालय पुनः निर्माणमा चासो नदिएका मिन्दूका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले बताउनुभयो ।

धादिङमा भूकम्पका कारण ४६५ विद्यालयका तीन हजार ७७५ कक्षा कोठा पूर्णरूपमा ध्वस्त भएकामा दुई हजार २३५ कक्षा कोठा निर्माण भइसकेको छ । नौसय एकतीस कक्षा कोठाको निर्माण जारी छ भने ५६० कक्षा कोठाको निर्माण शुरु नभएको भूकम्पीय पुनःनिर्माण शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter