मङ्गलबार, १८ बैशाख २०८१

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

२२ श्रावण २०७५, मंगलवार १८:५३ मा प्रकाशित

काठमाडौँ, २२ साउन, गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ ।

इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताउनुभयो ।

उहाँले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गर्नुभयो । गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानून कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गर्नुभयो । आज सम्पन्न हुने सातौँ मन्त्रिस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ । सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न शुरु गरिएको हो ।

नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, युएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यका रुपमा छन् ।

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियोे । उहाँ यही साउन २३ गते नेपाल फर्कने कार्यक्रम छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter