शुक्रबार, ०७ बैशाख २०८१

कफीमा सिन्दुरे रोग फैलँदै

१४ श्रावण २०७५, सोमबार १५:३३ मा प्रकाशित

ललितपुर, १४ साउन (रासस) ः चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ ।

कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर हावाबाट सिन्दुरे रोग फैलने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हावाबाट सर्ने भएकाले सिन्दुरे रोग अरू जिल्लामा समेत फैलन सक्छ ।”

शुरुमा पातको माथिल्लो भागमा सानो पहेँलो धब्बाबाट शुरु हुने सिन्दुरे रोगको उपचार नहुँदा बोट नै मरेर जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रोग लागेपछि बेला नहुँदै पात झर्छ र प्रकाश संश्लेषण प्रक्रिया कमजोर बन्छ ।”

नेपालमा उत्पादन हुने कफी प्राङ्गारिक भएकाले विदेशमा समेत माग बढिरहेको छ । त्यसैले रोगको व्यवस्थापन प्राङ्गारिकरहित तरिकाले गर्नुपर्ने मानन्धर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले गरिरहेको अध्ययनले पनि रासायनिक विषादिरहित तरिकाले यसको व्यवस्थापन सम्भव देखिएको छ ।”

कफीको ओसार–पसारमा निगरानी बढाउने र रोग अवरोधक जात लगाउँदा सिन्दुरे रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । उचित छहारी र बोटको काँटछाँटको व्यवस्था गरेर पनि सिन्दुरे रोगलाई कम गर्न सकिन्छ । तीनदेखि पाँच मिटरको फरकमा कफीका बिरुवा लगाउन र बगैँचाको सफाइमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

पोटासको प्रयोगले रोग बढाउने हुनाले किसानले मलखाद प्रयोग गर्दा नाइट्रोजन र फसफोरसको प्रयोग बढाउनुपर्छ । नेपालमा ४० वर्ष पहिले गुल्मीबाट कफीखेती शुरु भएको हो । अहिले ४२ जिल्लामा एक हजार ८०० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । सत्ताइस हजार किसान कफीखेतीमा संलग्न रहेका तथ्याङ्क छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter