शुक्रबार, २१ बैशाख २०८१

वैदेशिक रोजगारीमा निगरानी बढाउन माग

२८ असार २०७५, बिहीबार २३:४६ मा प्रकाशित

काठमाडौँ, २८ असार (रासस) ः अन्तर्राष्ट्रिय नेपाली एकता समाजले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई अलग–अलग ज्ञापनपत्र बुझाई सरकारको प्रत्यक्ष निगरानीमा वैदेशिक रोजगारी सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

एकता समाजका अध्यक्ष गङ्गा पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष सांसद दुर्गा पौडेललगायत प्रतिनिधिमण्डलले ओमनबाट बिदामा घर फर्केका नेपाली घरेलु महिला कामदारलाई पुनः सोही रोजगारीमा जान पाउनुपर्ने, विदेशस्थित नेपाली नागरिकलाई मतदान र प्रतिनिधित्वको अधिकार दिनुपर्ने र गैरकानूनी ढङ्गले युरोप, अमेरिकालगायत देशमा पठाउने नाममा भएका विकृतिको अन्त्य गर्नुपर्ने माग समेटिएका छन् ।

यसैगरी, ओमनमा त्यहाँको राजदूतावासको रोहबरमा नेपालीहरुको एउटै सोसियल क्लब दर्ता गर्नुपर्नेमा गैरआवासीय नेपाली संघले एकतर्फी क्लब दर्ता गरेको विषय पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ओमनमा कुनै एक नेपाली संगठनको नाममा मात्र सोसियल क्लब दर्ता हुनु उचित नभएको बताउँदै आफूले यसबारेमा पहल गर्ने आश्वासन दिएको समाजका महासचिव शोभाकान्त लामिछानेले जानकारी दिनुभयो ।

श्रममन्त्री विष्टले वैदेशिक रोजगारीमा देखापरेका विकृति अन्त गर्न सरकार क्रियाशील रहेको बताउनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter