शनिबार, ०५ जेठ २०८१

रु पाँच लाखको अक्षयकोष स्थापना

२३ असार २०७५, शनिबार २२:०९ मा प्रकाशित

ललितपुर, २३ असार (रासस) ः गोदावरी नगरपालिकाले ‘गोदावरी साहित्य परिषद्’ सञ्चालनका लागि रु पाँच लाख रकमसहित अक्षयकोष स्थापना गरिएको जनाएको छ ।

परिषद्द्वारा आज यहाँ आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘गोदावरी कला साहित्य सम्मेलन, राष्ट्रिय कवि गोष्ठी तथा स्रष्टा सम्मान’ कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रिय ऐतिहासिक पहिचानका लागि स्रष्टाहरुको सम्मान तथा पुराना अभिलेखलाई संरक्षण तथा सम्बद्र्धन गरिनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउन सवल रहेका राष्ट्रिय विभूतिको उचित संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय विभूति प्रसिद्ध कलाकार अरनिको अभिलेखले राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको उहाँको भनाइ रहेको थियो ।

उहाँले गोदावरी एउटा ऐतिहासिक नगरी भएकाले यहाँ रहेका कलाकृति तथा पौराणिक अभिलेखको सुरक्षा र सम्बद्र्धन गरिनुपर्ने उल्लेख गर्नुभयो । यस क्षेत्रको लेलेमा राजा शिवदेव र महापाल अंशुवर्माको पालामा रहेको संयुक्त शीलालेखको संरक्षण गरिनु जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

नगर प्रमुख गजेन्द्र महर्जनले नेपाली साहित्यकार, कलाकार, कवि एवं स्रष्टाहरुको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको बताउनुभयो । गोदावरी क्षेत्रको मात्र नभएर देशभरि नै रहनुभएका स्रष्टा सम्मानका लागि अक्षयकोषको स्थापना गरिएको उहाँको भनाइ रहेको थियो ।

स्रष्टाको संरक्षणबाटै देशको भाषा, संस्कृति, भेषभूषा तथा रीतिरिवाजको जगेर्ना तथा सुरक्षा हुन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका नगरप्रमुख महर्जनका अनुसार ऐतिहासिक गोदावरी नगरी विकास र सम्बद्र्धनका लागि धार्मिक एवं पुरात्वतिक अभिलेखको संरक्षण नै प्रमुख रहेको छ ।

नेपाली साहित्यमा उल्लेखनीय योगदान पु¥याउनु हुने गोदावरी नगरपालिका–१० का स्व ऋषिराम न्यौपानेका धर्मपत्नी जानकी न्यौपाने र कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने गोदावरी नगरपालिका–११ का राजेन्द्र देशारलाई परिषद्ले सम्मान गरिएको परिषद्का अध्यक्ष वशिष्ट अधिकारीले बताउनुभयो । सम्मानित दुवै जनालाई प्रमाणपत्रसहित ११ हजार १११ का दरले सम्मान गरिएको उहाँले बताउनुभयो ।

परिषद्द्वारा आयोजित संस्कृति, सम्पदा र स्थानीय सरकार विषयको निबन्ध प्रतियोगितामा प्रथम हुने रिता सञ्जेल, द्वितीय रीता केसी र तृतीया हुन सफल सुरेश थापालाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार, सात हजार र पाँच हजारका दरले सम्मान गरेको छ ।

यसैगरी प्रोत्साहनसहित डिकेश महर्जन र रुपा तिमल्सिनालाई नगद रु एक÷एक हजारका दरले सम्मान गरिएको जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय तथा स्थानीय सर्जक गरी ८० जनाको सहभागी रहेको परिषद्का अध्यक्ष अधिकारीले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter