शुक्रबार, ०४ जेठ २०८१

तीन भारतीय तीर्थयात्रीको मृत्यु, बाँकी सकुशल फर्कंदै

२० असार २०७५, बुधबार २३:३३ मा प्रकाशित

सुर्खेत, २० असार (रासस) ः मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

यात्राका क्रममा असार १७ र १८ गते एक पुरुषसहित दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक सुरतबहादुर चन्दले जानकारी दिनुभयो । मृत्यु हुनेमा असार १७ गतेका दिन भारत आन्द्र प्रदेश कोरनुल निवासी पासपोर्ट नं. एम.०९०१३०३ का ५६ वर्षीय विनिता सञ्जय खिदाकर रहेको र उनको मृत्यु चीनको डोरपाकमा भएको प्रहरी नायब निरीक्षक चन्दले बताउनुभयो ।

उहाँका अनुसार मृतक खिदाकरको शवपरीक्षण ताक्लाकोटमा गरी निजको छोरा केटन सञ्जय खिदाकरको मञ्जुरीनामा अनुसार मंगलबार हुम्लाको हिल्सास्थित कर्णाली नदीको किनारमा दाहसंस्कार गरिएको छ ।

त्यस्तै, असार १८ गते भारत केरला लम्किड निवासी पासपोर्ट नं. एल.५४८६५९५ का ५६ वर्षीया महिला लीलानारायण म्याण्डेथको सिमकोटमा मृत्यु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार उनलाई शवपरीक्षणका लागि १९ गते सिम्रिक हेलिकोप्टरबाट सुर्खेत हुँदै काठमाडौँ लगिएको छ ।

सोही दिन अर्का तीर्थयात्री भारत आन्द्र प्रदेश काकीनाडा निवासी पासपोर्ट नं. आर.९३२७८६७ का ५७ वर्षीय पुरुष सत्यालक्ष्मी नारायण (सुब्बा, राओ ग्राण्डी भेरा भेनका) को ताक्लाकोटमा मृत्यु भएको थियो । उनलाई पनि मंगलबार नेपालगन्ज हुँदै भारत लगिएको उहाँले जनाउनुभयो ।

हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बाहिर सञ्चारमाध्यममा आएजस्तो तीर्थयात्री कोही पनि अलपत्र नपरेको बताउनुभयो । मौसम बिग्रेर हवाई यातायात सेवामा अवरोध भएकाले सिमकोटमा तीर्थयात्रीहरु बस्नु परेको र सबै सकुशल फर्किरहेको उहाँले जनाउनुभयो । वैशाख–जेठदेखि शुरु हुने तीर्थयात्रामा आठ जना तीर्थयात्रीको हिँड्ने क्रममा मृत्यु भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आजभोलि पनि भारतीय तीर्थयात्रीहरु आउने–जाने क्रम निरन्तर चलिरहेको छ । मानसरोवर कैलाश समुद्री सतहबाट चार हजारदेखि चार हजार ५०० मिटर उचाइमा रहेकाले विशेषगरी लेक लागेर तीर्थयात्रीको मृत्यु हुने गरेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter