बिहिबार, १३ बैशाख २०८१

दाइजो विरुद्ध आफै बोल्न थाले रौतहटका किशोरीहरु

रमा खड्का

१८ असार २०७५, सोमबार १८:४५ मा प्रकाशित

रौतहटकी चन्द्रा पटेल अहिले २१ वर्ष पुग्नु भयो । उहाँ घरको सबै भन्दा जेठो सन्तान हो । उहाँका बुवा गाँउकै स्कुलमा पढाउनु हुन्छ । बुवा शिक्षक भएकै कारण चन्दाले सि.एम.ए पढ्न पाउनु भयो । सि.एम.ए सम्मको पढाई सकेर अहिले लोकसेवाको तयारी गर्दै हुनुहुन्छ । सुरुमा उहाँलाई म पढ्छु र परिवारलाई सघाउछु भनेर घरमा बुझाउन निकै कठिन भएको थियो । घरका अरु सदस्यले हुदैन् भने पनि उहाँका बुवा शिक्षित भएकै कारण उहाँले त्यो कठिन परिस्थितिलाई चिर्न सफल हुनुभयो ।
उहाँको गाँउमा छोरी मान्छे २१ वर्ष सम्म विवाह नगरी बसेको अपाच्य हुन्छ । त्यो पिडा उहाँले पनि दिन दिनै भोगिरहनु भएको छ । चन्द्राका बुवाले विगत तिन वर्ष देखि विहेको कुरा चलाउनु भएको भए पनि दाइजोकै कारण उहाँको विवाह हुन सकेको छैन् । उहाँको विवाहका लागि १२ लाख देखि २० लाख सम्म दाइजोको बार्गेनिङ भइरहेको छ । हरेक दिन चन्द्राको विहेको कुराले घरपरिवामा तनाव हुने गरेको छ ।
जब चन्द्राले आफ्नो विवाहका लागि दाईजोको बार्गेनिङ भएको कुरा थाहा पाउनु भयो त्यसपछि विवाह नै नगर्ने सोच बनाउनु भयो । उहाँले लोकसेवा पास गरेर मात्रै विवाह गर्ने निर्णय घरमा सुनाउनु भयो । उहाँ भन्नु हुन्छ, म पढेकी छु, केही गरेर खान सक्छु, म सक्षम हुदाँ हुदै पनि किन दाइजोका लागि मरिहत्त गर्छन् केटाहरु । आफुलाई मन नहुँदा नहुँदै आमा बुवा, छिमेकी र आफन्तको इच्छा पुरा गर्नका लागि विहे गर्नु पर्छ हामी छोरीले, उहाँको भनाई छ ।
उहाँको बुवाले छोरी पाएकोमा आफैलाई धिर्कानु हुन्छ । र आमालाई किन छोरी जन्माई भनेर गाली समेत गर्नु हुन्छ । यो कुराले चन्द्राको मन रुन्छ । उहाँ भन्नु हुन्छ, कहिले काहीँ त एकान्तमा गएर आत्महत्या गरौं जस्तो लाग्छ । मेरो कारणले आमाले गाली खानु हुन्छ ।
के सबैको ठेक्का हामी छोरीले मात्रै लिएका छौ र ? आफुले चाहेको काम गर्न नपाउने, मन परेको ठाँउमा जान नपाईने यो कस्तो नियम हो । तर, अहिले चन्द्रालाई दाइजो दिएर विवाह गर्न पटक्कै मन छैन् । उहाँ भन्नु हुन्छ दाइजो माग्छ भने म विहे नै गर्दिन, पढेकी छु घरमा बस्न नदिए पनि आफै केही व्यवसाय गरेर बस्न सक्छु । यो चन्द्राको आत्मविश्वास हो ।
चन्द्राको जस्तै समस्या छ, रौतहटको इसनाथ नगरपालिका वडा नं ३ कि सलमा निसाको । सलमा निसा अहिले २० वर्ष पुग्नु भयो । सलमा निसाका आमा बुवाले उहाँको विवाहका लागि केटासँग कुरा मिलाइ सक्नु भएको थियो । तिन लाख दाइजोमा विवाह गर्ने कुरा टुंगो लागेपछि यो कुरा सलमा निसालाई थाहा भयो । त्यसपछि उहाँले विवाह नै इन्कार गर्नु भयो । उहाँले भन्नु भयो, मेरो घर परिवार एकदमै गरिब छ, तिन तिन लाख रुपैंया मेरो आमा बुवाले कसरी जुटाउन सक्नुहुन्छ । घर र भएको जग्गा जमिन बेच्यो भने कहाँ गएर बस्ने, त्यो भन्दा त म विवाह नै गर्दैन भने पछि विवाह रोकियो,सलमाले भन्नु भयो ।
सलमा निसालाई दाइजो थोरै ल्याएको भन्दै घरपरिवारले जिउदै जलाएका घटनाहरु थाहा थिए । त्यसैले उहाँले अहिले विवाह गरे पनि भोली अरु कुनै केटीको परिवारले ६ लाख दिन्छु मेरो छोरीसँग विवाह गर भनेपछि आफुलाई मारेर उसैसँग विवाह गर्छ होला भन्ने पनि पिर थियो । किन कि तराई क्षेत्रमा यस्ता थुर्पै घटनाहरु घटेका थिए । सुरुमा विवाह गर्दैन भन्दा उहाँका बुवालाई सम्झाउन निकै समस्या भयो । जब सलमा निसाले दाईजो दिएर विवाह गर्ने काम नराम्रो हो, पुलिसले थाहा पायो भने जेल हाल्छ भनेर सम्झाउनु भयो अनि उहाँका बुवा पनि विवाह रोक्न राजी हुनुभयो ।
सलमा निसा अहिले आमालाई म विवाह गर्दा दाइजो लिदैन र तपाई पनि छोराको विवाहमा दाइजो नल्याउनु भन्दै सम्झाउनु हुन्छ । यो कुरा सुनेर उहाँका आमा, बुवा पनि खुशी हुनुहुन्छ । उहाँ भन्नु हुन्छ, दाईजो लिनु र दिनु दबै अपराध हो यस्तो कार्य कसैले पनि गर्नु हुदैन र कसैले गरेको थाहा पाए पनि रोक्नु पर्छ । दाइजो दिनु भन्दा छोरीलाई शिक्षा दिनु सबै भन्दा ठुलो काम हो । अहिले सलमा निसा यसरी आफ्नो घरपरिवार र समाजमा आफुले जानेको शिक्षा बाड्दै हिड्नु हुन्छ ।
सलमा निसा र चन्द्र पटेल त केही उदाहरण मात्रै हुन् । उहाँहरु जस्तै अहिले धेरै किशोरी र महिलाहरुले समाजमा भएका बालविवाह, महिला हिसां, दाइजो प्रथा जस्ता कार्यको अन्त्यका लागि पहल गरिरहेका छन् । यो पहल गराउनमा ठुलो हात छ छलफल केन्द्रको । रौतहटमा अक्सफाम नेपालको सहयोगमा र ग्रामिण विकास केन्द्र रौतहटले संचालन गरेको महिला र बालिकाहरु बिरुद्धको हिंसा अन्त्यका लागि अभियान (Creating Spaces) परियोजनाले उक्त छलफल केन्द्र चलाई रहेको छ ।
रौतहट जिल्लाका साविकका मठिया, औरैया, रामपुरखाप, जटहारा र नरकटिया गरी पाँच वटा गाविसमा यो कार्यक्रम संचालन रहेको छ । ति पाँच वटा गाविसमा ४५ वटा छलफल केन्द्र संचालनमा छन् । यो परियोजना रौतहट, दैलेख, बाँके र बैतडीका साविसका पाँच, पाँच गाविस गरी २० वटा गाविसमा संचालनमा रहेको छ भने ति २० गाविसमा १८० वटा छलफल केन्द्र रहेका छन् ।
छलफल केन्द्रमा जान थालेपछि बालिका र महिला माथि हुने हिसांका विरुद्धमा बोल्न उहाँहरुलाई धेरै नै सजिलो भएको छ । घरमा आमा बुवाको अगाडी शिर उचाले समेत बोल्न नसक्ने किशोरीहरु अहिले समाजिक अभियानमा सक्रिय रुपमा लागि रहेका छन् । बालविवाह,महिला हिसां, दाईजो प्रथा, छाउपडी प्रथा, बोक्सी प्रथा लगाएका कु प्रथाका विरुद्ध आवाज उठाउन थालेका छन् ।
विकास भन्ने कुरा विस्तारै हुन्छ भन्ने कुराको उदाहरण मात्रै हो यो । छोरीको इच्छा वेगर घर परिवारले जवरजस्ती उमेर नै नपुगि विवाह गरिदिने चलन पनि विस्तारै कम कम हुदै गएको छ । हिजोका दिनमा शिक्षा, स्वास्थ्य र रोजगारबाट पछाडी परेको क्षेत्र र समुदायलाई राज्यको मुल प्रवाहीकरणमा विस्तारै सामेल गराउदै गर्दा यस्ता खालका कु प्रथाहरु हट्दै जाने छन् । यस्तो खालको सचेतना संघ संस्था मात्रै नभएर अब स्थानीय निकायले नेतृत्व गरेर अगाडी बढाउनु पर्ने देखिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter