शनिबार, ०८ बैशाख २०८१

स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

१७ असार २०७५, आईतवार ०९:१५ मा प्रकाशित

बाबियाचौर, म्याग्दी, १७ असार (रासस) ः बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ ।

स्थानीय राधाकृष्ण पराजुलीले दिवंगत बुबा रघुनाथ र आमा भद्रकलीको स्मृतिमा आठ कोठे भवन र पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।

पराजुली परिवारले उपलब्ध गराएको भवनबाट यसै महिनादेखि सेवा दिन शुरु गरेको स्वास्थ्य चौकीलाई रघुनाथ भद्रकली स्मृति (पात्लेखेत) स्वास्थ्य चौकी नामाकरण गरिएको व्यवस्थापन समितिका सदस्य शिवबहादुर शाहीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवालमार्फत व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनलाई पराजुली र उहाँका छोरा रमेशले हालै लालपूर्जा हस्तान्तरण गर्नुभएको थियो ।

रु एक करोड पाँच लाख खर्च गरेर भवन निर्माण गर्नुभएका पराजुली परिवारले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । भवन निर्माणमा स्थानीयवासीले थप रु ३० लाख लगानी गरेको व्यवस्थापन समितिका सदस्य भरत रकालले बताउनुभयो । भवन र जग्गाको व्यवस्था भएपछि सेवा प्रवाह सहज बनेको छ ।

यसअघि वडा र दीपक मावि परिसरमा रहेको पुरानो जीर्ण भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य चौकीबाट पात्लेखेत, वाखेतका अलावा, घतान, झिँ र पाखापानीका बासिन्दाले समेत सेवा लिँदै आएका छन् । शर्मा कन्ट्रक्सनका सञ्चालक रहनुभएका पराजुलीले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter