आइतबार, १६ बैशाख २०८१

रुपन्देहीको छपिया मत्स्य पर्यटनको केन्द्र बन्दै

१९ जेष्ठ २०७५, शनिबार १६:४६ मा प्रकाशित

रुपन्देही, १९ जेठ (रासस) ः तपार्इंले कहिल्यै माछाको मःम खानुभएको छ ? खानुभएको छैन भने रुपन्देहीको छपिया आउनुस् जहाँ तपाईंले भनेजस्तै मःमसहित माछाका अनेक परिकार खान पाइन्छ ।

छपिया फिस भिलेज रिसोर्टको नामले परिचित छन् । सो रिसोर्टमा ती परिकारबाहेक, माछाको सुकुटी, माछा फिसिङ, फिस ससेज, फिस छोइला, फिस टिक्का, बोटिङलगायतका पोखरीका मनोरम दृश्य त्यहाँ पुगेपछि देख्न पाइन्छ ।

मत्स्य पर्यटनको प्रचुर सम्भावना रहेको सियारी गाउँपालिका वडा नं ४ छपियामा स्थानीय गौरव गौतमले माछाका विभिन्न परिकार बनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुभएको छ ।

“छपियालाई मत्स्य पर्यटनको केन्द्र बनाउन हामीले यस्तो प्रयासको थालनी गरेका हौँ”, रिसोर्टका सञ्चालक गौतमले भन्नुभयो ।

उहाँले कूल पाँच बिगाह क्षेत्रफलमध्ये करीब तीन बिगाह क्षेत्रफलमा छवटा पोखरी निर्माण गरेको जानकारी दिँदै पोखरीमा विभिन्न नौ जातका माछा पालेको बताउनुभयो । कमन, नैनी, भाकुर, माङ्गुर, वैरनी (पङ्गास), ग्रास, सिल्भर विकेटलगायतका माछा पोखरीमा छन् । सबै जातका माछाको किमा बनाएर मःम तयार गरिन्छ ।

सञ्चालक गौतमले २०७४ असोजदेखि सञ्चालन गरेको रिसोर्टमा कूल रु एक करोड २५ लाख लगानी भएको र उक्त लगानी भौतिक पूर्वाधारलगायत क्षेत्रमा खर्च भएको बताउनुभयो ।

“अहिले खर्चअनुसारको प्रतिफल नआए पनि म सन्तोषजनक फाइदामा छु”, उहाँले भन्नुभयो ।

रुपन्देहीको छपिया माछाका लागि स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात भएकाले अन्य व्यवसायभन्दा अलि फरक हुने गरी माछाको परिकार पाउने ठाउँका रुपमा यसलाई स्थापित गर्न खोजिएको उल्लेख गर्दै गौतमले छपिया घुम्न आउनेलाई बस्नका लागि आवासको समेत व्यवस्था गरिएको बताउनुभयो ।

बत्तीस वर्षअघिदेखि परम्परागत माछापालन भएको छपियालाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गर्न व्यावसायिक र आधुनिक प्रविधिको प्रयोग बढाउँदै व्यवसायीले आकर्षक सेडसहित ११ भन्दा बढी माछा फार्म स्थापना गरेका छन् ।

यहाँको १६७ हेक्टर क्षेत्रफलको एक हजार २०० पोखरीमा माछापालन भएको छ । पाँच सय ५० व्यावसायिक कृषकले वार्षिक एक हजार टन माछा उत्पादन गर्छन् । यसबाट वार्षिक रु २५ करोड बराबरको माछा उत्पादन हुने गरेको छ ।

बुटवलबाट झण्डै २४ किलोमिटर पश्चिम दक्षिणमा रहेको छपियामा माछाका पारखी रिसोर्ट, रेष्टुरेन्ट र पोखरीमा प्रशस्त भेटिन्छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत प्राथमिकतामा राखेको छपियामा सरकारले नयाँ पोखरीका लागि एक कट्ठामा रु १० हजार र पुरानो पोखरी मर्मत संहारका लागि रु तीन हजार ३०० अनुदान प्रदान गरेको मत्स्य व्यवसायी संघका अध्यक्ष पुण्यप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मत्स्यपालनका लागि आवश्यक उपकरणमा ५० प्रतिशत अनुदान पाएका छौँ ।”

अध्यक्ष चौधरीले माछा अर्गानिक भएकाले यसको स्वाद लिन पनि सिकाउने र नेपाललाई माछामा आत्मनिर्भर बनाउन छपियाका व्यवसायी लागेको उल्लेख गर्दै मत्स्य पर्यटनका संरचना निर्माण हुँदै गएका छन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले मत्स्य पर्यटन केन्द्र स्थापना गरेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई माछामा रमाउने वातावरण तयार गर्न थालेका छौँ ।”

अध्यक्ष चौधरीले निर्माणाधीन लुम्बिनी अन्तर्राष्टिय विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकै रहेको छपियामा रु आठ करोड लगानीसम्मका होमस्टे, रेष्टुरेन्ट र रिसोर्ट खुलेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter