आइतबार, १६ बैशाख २०८१

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत

१८ जेष्ठ २०७५, शुक्रबार २०:२८ मा प्रकाशित

काठमाडौँ, १८ जेठ (रासस) ः प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले प्रदेश नं १ लाई १०६ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगिताको खेल वर्षाले प्रभावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौँ नम्बरमा ब्याटिङ गर्नमा आएका कप्तान विनोद भण्डारीको विस्फोटक पारिको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

भण्डारीले विस्फोटक पारि खेल्दै २९ बलमा ६४ रन बनाए । अन्तिम बलमा आउट हुनुअघि उनले ६ छक्का र ४ चौका प्रहार गरे । त्यस्तै, ओपनर सागर पुन ८ रनमै आउट भएपछि आएका नरेश बुढायरले अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे ।

मण्डल ३६ रनमा आउट भएपछि आएका राजु रिजालले पनि ४ रन मात्र बनाउन सके । चौथो विकेटमा रुपमा नरेश बुढायर व्यक्तिगत ३२ रनमा आउट हुँदा आर्मीले २५ दशमलव १ ओभरमा ८८ रन बनाएको थियो ।

मध्यक्रममा आर्मीका भीम सार्कीले १४ र सोमपाल कामीले २२ रन जोडे । त्यसपछि आठौँ नम्बरमा ब्याटिङमा आएका भण्डारीले विस्फोटक पारी खेल्दै इनिङ उकासे । अन्तिम ओभरको पाँच बलमा भण्डारीले सबै बल बाउन्ड्री कटाएका थिए । जसमा तीन चौका र दुई छक्का थियो । आर्मीका लागि विक्रम सोबले पनि १६ रन जोडेका थिए ।

बलिङतर्फ प्रदेश नं १ का मनोज तामाङले ३ विकेट लिँदा मिनास थापा र फिर्दोस अन्सारीले २–२ विकेट लिए । २२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नं १, २९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन समेटियो । उसका लागि कप्तान पुष्प थापाले ५९ र राजन मगरले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रदेश १ को इनिङ धराशयी बनाउने क्रममा आर्मीका शुसान भारी एक्लैले ४ विकेट लिए । त्यस्तै, सोमपाल कामी, सागर पुन र साहव आलमले समान २–२ विकेट लिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter