मङ्गलबार, ०८ जेठ २०८१

सामाजिक विकासका लागि धेरै काम गर्न बाँकी

१४ असार २०७५, बिहीबार २३:३७ मा प्रकाशित

ललितपुर, १४ असार (रासस) ः विभिन्न संस्थाले यहाँ आज आयोजना गरेको ‘सार्वजनिक नीति र दक्षिण एशियामा सरकारः न्याय र विकासका लागि’ विषयको सम्मेलनमा सहभागी वक्ताले दक्षिण एशियाली देशमा सामाजिक विकासका लागि धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थायी सरकारका लागि काम पाउने धेरै अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको आर्थिक विकास र सामाजिक न्यायमार्फत दु्रत विकास सम्भव छ ।” संविधानको कार्यान्वयन हुँदा समावेशी विकास सम्भव हुने उहाँको भनाइ थियो ।

बंगलादेशको मन्त्रिपरिषद्का सदस्य रासेधा चौधरीले लैङ्गिक असमानता कम गर्दै जाने दिशामा दक्षिण एशियामा धेरै काम गर्दै जान बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर छोटो समयमा धेरै काम भएको छ भने अर्कातिर यो क्षेत्रमा धेरै गर्न बाँकी छ ।”

राष्ट्रियसभा सदस्य डा विमला राईले लैङ्गिक समानताका लागि नेपालमा पछिल्ला वर्षमा प्रगति भइरहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले विश्वविद्यालयले सक्षम जनशक्ति उत्पादन गर्दा मुलुकको समग्र विकासमा सहयोग पुग्ने बताउनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, म्यानमालगायत देशका प्रतिनिधि सहभागी छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter