मङ्गलबार, ०८ जेठ २०८१

अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न आयोगको आग्रह

१४ असार २०७५, बिहीबार २३:०८ मा प्रकाशित

काठमाडौँ, १४ असार (रासस) ः राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा आयोगका पदाधिकारीले सो आग्रह गर्नुभएको हो ।

भेटमा आयोगका अध्यक्ष अनुपराज शर्माले विगत ३० दिनदेखि आमरण अनशनमा बस्नुभएकी अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले संवेदनशील हुन आग्रह गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपितलाई कूटनीतिक पहलमार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाइ कानूनबमोजिम कारवाही गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा गृहसचिव राईले अधिकारीको जीवनरक्षाका लागि सरकार सधैँ संवेदनशील भएको बताउँदै विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्ब पहल गरिने स्पष्ट पार्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन प्रयास भइरहेको बताउनुभयो ।

छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकामा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै उहाँ अनशन बस्नुभएको छ ।

आयोगका सदस्य सुदीप पाठकले अधिकारीले उठाउँदै आउनुभएको विषयको सुनुवाइ नभएसम्म अनशन नतोड्ने बताएको र उक्त विषयहरु कानूनी शासन, दण्डहीनताको अवस्थासँग जोडिएको हुनाले माग सम्बोधन र मानवअधिकार रक्षाका लागि सरकारसँग पटक पटक ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको बताउनुभयो ।

अनशनकै क्रममा अस्वस्थ्य भएपछि अधिकारीको वीर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter