सोमबार, २४ बैशाख २०८१

यथास्थितिमा काँग्रेस अगाडि बढ्न सक्दैनः काँग्रेस नेता

२८ जेष्ठ २०७५, सोमबार २३:५३ मा प्रकाशित

काठमाडौँ, २८ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौँले आज आयोजना गरेको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ । वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताउनुभयो । “सत्तारुढ दल पैसाको खोल ओढेर काँग्रेस सिध्याउने खेलमा लागेका छन्, काँग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको छ, काँग्रेस समयमै सचेत हुनु जरुरी छ,”–उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधिविधानलाई उल्लंघन गरेर पार्टी चल्न नसक्ने बताउनुभयो । “पार्टी नै विधानअनुुसार चल्न नसक्दा भ्रातृ संस्था लथालिंग अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो । पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामन्तवाद र चाकडीबाज संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताउनुभयो । “सभापतिले ४० सांसद मनोनीत गर्दा मजदुर, बुद्धिजीवी, वकिल कसैलाई पनि नगर्नु दुःखद् कुरा हो, यस्तो तरिकाले काँग्रेस चल्न सक्दैन,”, उहाँले भन्नुभयो । पार्टीभित्र नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक भएको उहाँको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले काँग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सबै जनतालाई समेटेर अगाडि बढे मात्र पार्टी सशक्त हुने बताउनुभयो ।
केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको बताउनुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व, सिद्धान्त, व्यवहार र आचरण सुधार गरे मात्र काँग्रेस सुध्रिने बताउनुभयो । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले र नेता दीपक भट्टराईले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको छ भन्दै नेविसंघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्ने बताउनुभयो । नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले काँग्रेस र भ्रातृसंस्थालाई चलायमान बनाउन नेविसंघ काठमाडौँले समय समयमा रचनात्मक काम गर्दै जाने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter