शनिबार, २२ बैशाख २०८१

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरेको अभियोगमा तीन पक्राउ

२८ जेष्ठ २०७५, सोमबार २३:४७ मा प्रकाशित

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ ।

निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो । चार पाँच दिनदेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी बढाइएको र बिक्री वितरण रोकेको खण्डमा पक्राउ गरी कारवाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।
निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्याङ्कर व्यवसायीबीचको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थ अभाव भएको छ । ट्याङ्कर चालकको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन र पेट्रोलियम ढुवानी संघबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भए पनि डिपो प्रमुखले जबर्जस्ती एकाधिकार बढाएको आरोप लगाइएको छ । पेट्रोल पम्पले ट्याङ्कर चालकलाई ढुवानी बापत दिँदै आएको रु ६०० कटौती गरेपछि चालकले ढुवानी सेवा नै बन्द गरेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter