शनिबार, २२ बैशाख २०८१

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

२७ जेष्ठ २०७५, आईतवार १३:५९ मा प्रकाशित

लहान, २७ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् ।

कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ ।

अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ ।

वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter