शनिबार, ०५ जेठ २०८१

प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

२५ जेष्ठ २०७५, शुक्रबार ११:१६ मा प्रकाशित

पथरी, मोरङ, २५ जेठ (रासस) ः अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिनुभएको छ ।

सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन ।

उहाँले भन्नुभयोे, “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।” अर्थशास्त्री धमलाले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको हो । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ ।

उहाँले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राख्नुभयो । उहाँकै शब्दमा अब हलोका भरमा कृषिको उत्पादकत्व बढाउन सकिँदैन । व्यापारघाटा कम गर्ने एकमात्र क्षेत्र कृषि भएको उहाँको दाबी छ ।

कृषिकै माध्यमबाट छिटो जनताको जीवनस्तर उकासिने पर्यटन विज्ञ प्रा डा सोमनाथ खतिवडाको भनाइ छ । उहाँका अनुसार पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल — मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश नं १ मा पर्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् ।

प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि प्रदेशमा छ । यस आधारमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्छ १ नम्बर प्रदेश । पर्यटकीय हिसाबले प्रदेश नम्बर १ धनी प्रदेशका रुपमा पर्दछ । सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण र मकालु हिमाल पनि यही प्रदेशमा छ । पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर तथा कोशी जलमार्गमा ¥याफ्टिङ पनि शुरु भएको छ ।

यस्तै, इलामको माइपोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहेका धेरै सीमसार क्षेत्रले पर्यावरणको सुरक्षा अझै सशक्त बनाएका छन् ।

पर्यटन र कृषिको प्रतिफल चाँडै प्राप्त हुने भएकाले प्रदेश सरकारले त्यसअनुसार बजेट विनियोजन गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter