शुक्रबार, २१ बैशाख २०८१

सबैले गम्भीरतापूर्वक सोचौं

२५ जेष्ठ २०७५, शुक्रबार ००:४६ मा प्रकाशित

नेपालका दुइ प्रमुख ‘कम्युनिष्ट’ घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ।मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले यसबारे केही प्रारम्भिक टीप्पणी प्रस्तुत गर्न चाहन्छु:-
० एउटै विचार, नीति , कार्यक्रम, संगठनात्मक प्रणाली, कार्यशैली अंगिकार गर्ने पार्टीहरू वीच एकता हुनु राम्रो कुरा हो।त्यस अर्थमा ‘कम्युनिष्ट’ शब्दप्रति ऐतिहासिक कारणले नेपाली जनता र कार्यकर्ताको ठुलो हिस्सामा आकर्षण बाँकी रहेकाले आफुलाई कम्युनिष्ट पार्टी भने पनि ब्यबहारमा राज्य पुँजीवाद/ क्रोनी क्यापिटालीज्मलाई अपनाइसकेका ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी राजनीतिक वर्चस्वकालागि आपसमा विलय हुनु स्वाभाविक हो!

॰ २०५२ साल अघिदेखि नै राजतन्त्र अन्तर्गत जबजको नाउँमा त्यो बाटो समातीसकेको एमाले र त्यसका विरूद्ध दशवर्षे जनयुद्ध संचालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न निर्णायक भूमिका खेल्ने माओवादी वीच अहिले मूलत: एमालेकै राजनीतिक कार्यदिशा र वर्चस्व अन्तर्गत एकीकरण हुनु चाहिं विडम्वनापूर्ण कुरा हो।यसले मुख्यत: जनयुद्ध, मधेस/थारू आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेसी/समानुपातिक लोकतन्त्रको रक्षा मर्जर पश्चात बनेको पार्टीले कसरी गर्ला भन्ने गम्भीर प्रश्न उठ्नेछ! ऐतिहासिक जनयुद्धको दशबर्षसम्म विपरित ध्रुवमा उभिएका र एकअर्कालाई सिध्याउने मनोविज्ञान बोकेका दुइ पक्षका नेताकार्यकर्ताको मिलन कसरी होला अर्को व्यवहारिक समस्या हुनेछ। कि त एमालेजनले जनयुद्धमा नलाग्नु र विरोध गर्नु गलत थियो भन्ने भित्री मनले स्वीकार्नु पर्यो कि प्रचण्ड माओवादीले जनयुद्ध गलत र अपराध थियो भनेर पश्चाताप गर्नुपर्यो! दुवै एकैसाथ सही कसरी हुनसक्छन्?

० वैचारिक रूपले सबभन्दा गम्भीर समस्या शास्त्रीय मार्क्सवाद-लेनिनवाद-माओवादले परिभाषित गरेको दार्शनिक , राजनीतिक अर्थशास्त्रीय र वैज्ञानिक समाजवादका सिद्धान्त र मूल्यमान्यता परित्याग गर्ने तर ‘कम्युनिष्ट पार्टी’ को ब्यानर/ ब्राण्ड चाहिं समातिराख्ने कुराले ल्याउने असाध्य अन्तर्विरोध कसरी हल होला?

० यो स्थितिमा इमान्दारीपूर्वक विगतका उपलब्धीको रक्षा गर्दै आगामी दिनमा देशमा राष्ट्रिय औद्यौगिक पुँजीवादको विकास गर्दै समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादी विचार र पार्टीको निर्माणमा लाग्नु र त्यसनिम्ति वृहद राजनीतिक ध्रुवीकरण गर्नु उपयोगी र वस्तुवादी होला कि!

सबैले गम्भीरतापूर्वक सोचौं!!

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter