मङ्गलबार, १८ बैशाख २०८१

लगानी भित्र्याउन प्रदेश सरकारको चासो

१७ जेष्ठ २०७५, बिहीबार १७:५६ मा प्रकाशित

रुपन्देही, १७ जेठ (रासस) ः प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ ।

लगानी बोर्डले आज बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी अन्तरक्रियामा सरोकारवालाले विशेषगरी प्रदेश नं ५ मा सिमेन्ट उद्योग, खानी उद्योग, व्यावसायिक खेती र लुम्बिनी क्षेत्रलाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउनेलगायत लगानीका क्षेत्र रहेको बताएका छन् ।

सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले व्यावसायिक योजनासहित रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेल सञ्चालन गर्ने कुरा बाह्य लगानीको क्षेत्र भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई औद्योगिकीकरण गरेर त्यसबाट दिगो लाभ लिन सकिन्छ ।”

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा व्यावसायिक खेतीको प्रचुर सम्भावना रहेकाले त्यसमा लगानी गर्न बोर्डको ध्यानाकर्षण गराउँदै कफीको उत्पादन र प्रशोधनमात्रै गरे त्यो ठूलो उद्योगका रुपमा स्थापित हुने बताउनुभयो ।

उहाँले प्रदेश नं ५ मा कागज कारखानाको सम्भावना पनि उच्च रहेको आवश्यकता औँल्याउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ओपेन्द्र काफ्लेले प्रदेश नं ५ मा खानीको सम्भावना प्रचुर भएको बताउनुभयो ।

लगानी बोर्डका कार्यकारी अधिकृत मधुप्रसाद अधिकारीले पूर्वाधारको क्षेत्रमा कमजोर लगानी भएपनि प्रदेश नं ५ मा प्रशस्त उद्योगधन्दा भएको धारणा व्यक्त गर्नुभयो ।

लगानी बोर्डका सहसचिव मधुप्रसाद भेटवालले ठूला परियोजनामा प्रतिष्पर्धा र पारदर्शितामा काम सम्पन्न गर्न लगानी बोर्ड गठन भएको जानकारी दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले लगानीकर्ताले यो प्रदेशमा लगानी गर्न आतुर रहेको छ भन्नुभयो । (तस्वीर उपलब्ध छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter