शनिबार, २२ बैशाख २०८१

सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइन्छ ः राज्यमन्त्री बाँस्कोटा

१४ जेष्ठ २०७५, सोमबार १४:५१ मा प्रकाशित

काठमाडौँ, १४ जेठ (रासस) ः सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको अनुभवबाट सिकेर समुदाय र सिंगो राष्ट्रको विकासका लागि व्यावहारिक र आवश्यकताको आधारमा उक्त नीति यथाशीघ्र ल्याइने बताउनुभयो ।

समाजलाई सूचना तथा समाचार प्रवाहको उद्देश्य व्यावसायिक र सामुदायिक रेडियोका बीच फरक रहेका कारण उनीहरुलाई सरकारले उपलब्ध गराउने सहुलियत तथा सुविधा फरक हुने उहाँको भनाइ थियो ।

राज्यमन्त्री बाँस्कोटाले विभिन्न कलाकारको सिर्जनालाई रेडियोले प्रसारण गरी आम्दानी गर्ने हुँदा त्यसको अभिलेख राखेर रोयल्टी वितरण पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य कृष्ण राईले सामुदायिक रेडियोको संरक्षणका लागि स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले मुलुकमा पत्रकारिता क्षेत्रको विकासका लागि उक्त विषयको पठनपाठनको व्यवस्था थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख चिरञ्जीवी खनालले सामुदायिक रेडियोले सम्बन्धित क्षेत्र तथा समुदायको समस्यालाई सम्बोधन गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

सामुदायिक रेडियो प्रसारण संघका अध्यक्ष सुवास खतिवडा, रेडियोकर्मी घमराज लुइँटेल, उपेन्द्र अर्याललगायतले रेडियोले स्थानीय मौलिकतालाई प्राथमिकता दिएर सन्देश प्रसारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter