बिहिबार, १५ चैत २०८०

स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण

१४ जेष्ठ २०७५, सोमबार १०:४३ मा प्रकाशित

नगरकोट, १४ जेठ (रासस) ः भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ ।

राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रमअन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो ।

त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी उपचार पद्धतिबारे समेत विस्तृत जानकारी दिइएको एनएपीएनका सचिव राजेश दिदियाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा उपचारमा आउने, एचआइभी संक्रमित–संक्रमितबीच सुरक्षित यौन सम्बन्ध राख्नेबारे समेत जानकारी दिइएको थियो । “अन्तर्राष्ट्रिय जगतमा एचआइभी एड्सको क्षेत्रमा भइरहेको नयाँनयाँ अभ्यास नेपालमा पनि कार्यान्वयनमा ल्याउने विधि र प्रक्रियाबारे प्रशिक्षणमा जानकारी दिएका छौँ”, सचिव दिदियाले भन्नुभयो ।
“एनएपीएनले देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको कोषाध्यक्ष इन्दिरा परियारको भनाइ थियो । उहाँ भन्नुहुन्छ, एचआइभी संक्रमित महिला बढी समस्यामा परेको हामीले सुनेका छौँ । त्यसैले एचआइभी संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको परियारको भनाइ थियो ।

नेडेफकी अध्यक्ष दीपा बस्नेतले एचआइभी एड्सलाई स्वास्थ्य समस्याको रुपमा लिने प्रवृत्ति नहुँदा संक्रमित भेदभाव र लाञ्छनाको शिकार हुनुपरेको बताउँदै एचआइभीलाई रोगका रुपमा लिएर संक्रमितलाई अरु बिरामीसरह सम्मानपूर्वक उपचार गर्न गराउन प्रशिक्षणको संयोजन गरिएको जानकारी दिनुभयो ।

भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी एवं स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter