लहान, १३ जेठ (रासस) ः तीनहप्ता अगाडि सिरहाको कर्जन्हा नगरपालिका–७, मरेवा निवासी मुसहरु भन्ने सुपेन्द्र यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाको टोलीले ४५ वर्षीय सुपेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवा निवासी ५५ वर्षीय बन्ठा भन्ने रामसेवक यादव र सोही ठाउँका २८ वर्षीय जंगली भन्ने अन्जनीकुमार कुशवाहा महतोलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा हत्यामा दुवैजनाको संलग्नता पुष्टि भएपछि कर्जन्हा नगरक्षेत्रभित्रै लुकीछिपी बसिरहेको अवस्थामा दुवैजनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैको वयानको आधारमा हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार तरवार एक थान र रगत लागेको कपडाको गम्छा तौलिया एक थान अभियुक्त अन्जनीको घर पछाडि बारीमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद भएको उहाँले बताउनुभयो ।
दुवैजनालाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थपगरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यादवको गत वैशाख २१ गते घर नजिकै हत्या भएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू