मङ्गलबार, २५ बैशाख २०८१

खानेपानीको समस्या समाधानका लागि गुरुयोजना आवश्यक

१२ जेष्ठ २०७५, शनिबार २०:३५ मा प्रकाशित

दाङ, १२ जेठ (रासस) ः प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । “पानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुहोस्, त्यसमा प्रदेश सरकारले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेशका केही जिल्लामा खानेपानीको अवस्था अत्यन्तै दयनीय रहेको बताउँदै पोखरेलले भन्नुभयो, “प्रदेश नं ५ का सबै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन । समग्र प्रदेशको अवस्था हेर्ने हो भने ८८ प्रतिशत घरपरिवारमा खानेपानी सुविधा पुगेको छ । धेरै घरधुरीमा खानेपानी सेवा उपलब्ध भएको तेस्रो प्रदेशका रुपमा हाम्रो प्रदेश रहेको छ ।”

खानेपानी सुविधाका दृष्टिले प्रदेश नं ५ को सबैभन्दा कमजोर जिल्लाका रुपमा दाङ रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यहाँका ५५ प्रतिशत घरधुरीमा मात्र सतहको खानेपानी सुविधा पुगेको बताउनुभयो । “उहाँले यसतर्फ जिल्लाका स्थानीय तहहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख चोपप्रसाद धितालले दाङमा समग्रमा ७५ प्रतिशत जनताले खानेपानीको सुविधा पाएको बताउनुभयो । उहाँले सबैभन्दा ठूलो पानीको स्रोत सतहको पानी ५५ प्रतिशत रहेको र बाँकि अन्य उपभोक्ताले जमिनमुनिको पानी खाने गरेको बताउनुभयो ।

धितालले खानेपानीको विकल्पमा पातुखोलामा बहुउद्देश्यीय उच्च जलाशयको सम्भाव्यता अध्ययनका साथै गुहार खोला र कटुवा खोलामा पनि उच्च जलाशय निर्माण गर्न सकिने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीले जिल्लामा रहेका खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी ठोस कार्यनीति तय गर्ने बताएको छ । दाङका विभिन्न खानेपानी समितिका २०० भन्दा बढी प्रतिनिधिको गोष्ठीमा सहभागिता रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter