आइतबार, १६ बैशाख २०८१

परिवर्तनको अनुभूति गराउन सरकार प्रतिबद्धः मन्त्री तामाङ

१२ जेष्ठ २०७५, शनिबार २०:३२ मा प्रकाशित

काठमाडौँ, ११ जेठ (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मुलुकमा सुशासन, जनताको विकास र समृद्धिका लागि आवश्यक पर्ने कानूनको अभाव हुन नदिने बताउनुभएको छ ।

राष्ट्रिय संगीतकर्मी संघको चौँथो महाधिवेशनको शनिबार भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री तामाङले कानूनी जटिलताले समाजमा हुन लागेका राम्रा काममा ढिला सुस्ती भएको उल्लेख गर्दै देशमा आर्थिक लगानी वृद्धि गरी जनतालाई उत्पादनसँग जोड्ने र परिवर्तनको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकृतिक रुपमा धनी नेपालमा विभिन्न जाति समुदायको बसोबास रहेको हुँदा विविध संस्कृतिले हामी धनी भएको बताउँदै उहाँले सबै समुदायका गीत÷संगीतको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभा सदस्य कोमल ओलीले स्रष्टाका रचनाको प्रतिलिपि हुने गरेकामा चिन्ता व्यक्त गर्दै कलाकारमैत्री कानून बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ गायक कुमार बस्नेत, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठलगायतले देशभरका कलाकारिता क्षेत्रको विकास र कलाकारकारको सामाजिक सुरक्षाका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष नवराज घोरासैनीले देशका विभिन्न ४५ जिल्लाबाट करिब ७०० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले नेपाली गीत तथा संगीतको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त कार्यक्रममा वरिष्ठ गायक बस्नेत, राष्ट्रियसभा सदस्य ओलीलगायतलाई सम्मान गरिएको थियो । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । विसं २०६२ मा स्थापित उक्त संघमा नेपाली लोकगीत, आधुनिक गीत, चलचित्रका गीतमा संगीत भर्ने कलाकार आबद्ध छन् । संघले हालसम्म छवटा प्रदेशमा प्रदेशस्तरीय कमिटी गठन गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter