शनिबार, १५ बैशाख २०८१

उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ च्याम्पियन

११ जेष्ठ २०७५, शुक्रबार २१:२४ मा प्रकाशित

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ ।

एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रदेश ४ दोस्रो भयो । प्रदेश ४ ५ स्वर्ण, ९ रजत र २ कांस्यपदक जित्दै दोस्रो बनेको हो । चार स्वर्ण, ८ रजत र ९ कांस्यपदक हात पार्दै प्रदेश ५ तेस्रो भयो ।

एथलेटिक्सबाहेक प्रदेश ३ बाँकी तीनै खेलमा टिम च्याम्पियन बन्यो । एथलेटिक्समा भने प्रदेश ५ अगाडि रह्यो । प्रदेश ५ ले ४ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।

प्रदेश ३ ले एथलेटिक्समा भने कुनै स्वर्ण जितेन । प्रदेश ३ ले तेक्वान्दोमा ४ स्वर्ण, १ रजत र ४ कांस्य, करातेमा ६ स्वर्ण र ३ रजत तथा उसुमा ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।

एथलेटिक्स

छात्र २०० मिटर दौडमा प्रदेश २ का अमर यादव पहिलो भए । उनले निर्धारित दूरी २४.१८ सेकेन्डमा पूरा गरे । सोही स्पर्धाको छात्रामा प्रदेश ५ की प्रशान्ती थारुले शीर्ष स्थान हात पार्न २८.९५ सेकेन्डमा दूरी तय गरिन् । छात्र र छात्राको १०० मिटरमा पहिलो भएका क्रमशः राहुल गुरुङ र रिया थापाले २०० मिटरमा भने दोस्रो स्थानमा चित्त बुझाए । राहुल र रिया दुवै प्रदेश ४ का हुन् ।

लङजम्पको छात्रमा प्रदेश ५ कृष्ण घिमिरे पहिलो भए । उनले ५.५९ मिटर जम्प गरे । त्यसै स्पर्धाको छात्रामा ४.४९ जम्प गर्दै प्रदेश २ की अनुषा राउतले स्वर्ण चुमिन् । कृष्ण र अनुषाले ट्रिपलजम्पमा पनि स्वर्ण जितेका थिए ।

सटपुटको छात्रमा प्रदेश १ का तुलसीराम थारु तथा छात्रामा प्रदेश ४ की सुशीला श्रेष्ठले स्वर्ण हात पारे । तुलसीले १२.९३ मिटर तथा सुशीलाले ७.८४ मिटर टाढा फाले ।

कराते

करातेको छात्र एकल कातामा प्रदेश १ का सूर्यचन्द्र राईले स्वर्ण जिते । उनले प्रदेश ४ का प्रिन्स गुरुङलाई पराजित गरे । सोही स्पर्धाको छात्रामा प्रदेश ३ की सञ्जु देशार प्रदेश ५ की अनिता पुनलाई हराउँदै पहिलो भइन् ।

छात्र ३० केजीमा प्रदेश ३ का सुशील परियार पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रुपेश तामाङलाई पाखा लगाए । चौँतीस केजीमा प्रदेश ३ सुशान्त हुमागाईँले प्रदेश ४ का विपीन पुन तथा ३८ केजीमा प्रदेश ४ का भाष्कर पुनले प्रदेश १ का अतिम राईलाई फाइनलमा पन्छ्याउँदै पहिलो स्थान हात पारे ।

छात्राको ३० केजीमा प्रदेश ३ की एन्जिला राईले प्रदेश ५ की सृृष्टि गुरुङ, ३४ केजीमा प्रदेश ३ की सञ्जु देशारले प्रदेश ५ की अनिता विक तथा ३८ केजीमा प्रदेश ३ की मिना ब्लोनले प्रदेश ५ की अनिता पुनलाई पाखा लगाउँदै पहिलो भए ।

तेक्वान्दो

छात्र ४१ केजीमुनि प्रदेश ६ का सुशील बर्ला पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का लेखनाथ कुर्मीको चुनौती समाप्त पारे । एकल पुम्सेमा प्रदेश ३ का विवेक श्रेष्ठले प्रदेश १ का सोहन कार्कीलाई पछि पार्दै स्वर्ण चुमे ।

छात्राको ३३ केजीमुनि प्रदेश ३ की निमा खत्रीले प्रदेश १ की ममता माझी तथा ३७ केजीमुनि प्रदेश ७ की प्रकृति पालीले प्रदेश ३ की लक्ष्मी सुनाखरी मगरलाई निराश पार्दै शीर्ष स्थान कब्जा गरे । लक्ष्मी पुम्सेमा भने स्वर्ण जित्न सफल भइन् । लक्ष्मीले प्रदेश ५ की आशा विकलाई हराइन् ।

उसु

छाङ छ्वानको छात्रमा प्रदेश ३ का अरुण तामाङ र छात्रामा प्रदेश ३ की सारा तामाङ, नान् छ्वानको छात्रमा प्रदेश १ का एलिस मरिक र छात्रामा प्रदेश ७ दीक्षा साउद तथा थाइची छ्वानको छात्रमा प्रदेश ३ का विवेक मण्डल र छात्रामा प्रदेश ३ कै मारिया राई पहिलो बने ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

चारै खेलको प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कार प्राप्त गरे । दुईदिने उक्त प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३२२ खेलाडी सहभागी थिए । छात्रछात्रातर्फ एथलेटिक्समा ५÷५, कराते र तेक्वान्दोमा ४÷४ तथा उसुमा ३÷३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालीम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter