शुक्रबार, ०७ बैशाख २०८१

रोजा र हाम्रो स्वास्थ्य

९ जेष्ठ २०७५, बुधबार २३:१७ मा प्रकाशित

डा. मो. ऐनुद्दीन बागबान

मेडिकल अधिकृत 
नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल

अल्लाहले कुरआनमा भनेका छन् कि “हे आस्थावानहरु हो ! तिमीहरुमाथि रोजा (उपवास) अनिवार्य गरिएको छ जसरी तिमीहरुभन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो । आशा छ कि तिमीहरुभित्र ईशभय उत्पन्न हुनेछ । (कुरआन ,२ : १८३)

इस्लाममा रोजा राख्नु भन्नाले बिहान मिरमिरे उज्यालो हुनु अघिदेखि साँझ सुर्यास्तसम्म खानपिन तथा सम्भोग गर्नुबाट रोकिने कार्य बुझिन्छ । हिज्री संबत्को नवौं महिना रमजान भरिनै रोजा राख्नु आस्थावानहरुमाथि अनिवार्य गरिएको छ जुन इस्लामका पाँच आधारभूत स्तम्भहरु मध्ये एक हो । यस बाहेक शव्वाल महिनाको ६ दिनको रोजा, जिल्हिज्जाको शुरुको ९ दिनका रोजा, मुहर्रमको नवौं र दशौं दिन तथा शाबानका रोजाहरु लगायत हरेक महिनामा ३ दिनका रोजाहरु राख्नु पनि अल्लाहका अन्तिम संदेष्टा मुहम्मद (स.) को पबित्र जीवनीबाट साबित छन् ।

रोजाको उद्देश्यः
रोजा राख्नुको उद्देश्य शरीरमा रहेका विकारयुक्त पदार्थहरु अथवा कुनै रोगबाट मुक्त भई शरीरलाई स्वस्थ बनाउनु होइन, न त यसको उद्देश्य विभिन्न शारीरिक समस्याहरुबाट जोगाई मानिसको शारीरिक तथा मानसिक विकास गराउनु नै हो । यसको प्रमुख उद्देश्य त मानिसको मुटुभित्र महान सृष्टिकर्ता अल्लाहप्रति भय, प्रेम र आशाको भावना उत्पन्न गराउनु हो जसले गर्दा नै एउटा मानिस जीवनको हरेक क्षेत्रमा आफ्नो पालनकर्ता अल्लाहद्वारा प्रदान गरिएका नियमानुसार जीवनयापन गरी असल भक्त बन्न सफल हुन सक्दछ ।

यसले नै मानिसलाई पुण्यका कार्यहरु गर्न तथा पापहरुबाट बच्न बाध्य तुल्याउने गर्दछ । जसको फलस्वरुप मानिसले आफ्नो एकमात्र स्वामी अल्लाहसमक्ष उच्च स्थान प्राप्त गर्दछ । रोजाद्वारा हरेक वर्ष एक महिनाको लगातार प्रशिक्षणको बावजुद पनि हाम्रो मुटुभित्र उक्त प्रेम तथा भयको भावना प्रादुर्भाव हुन सकेन अर्थात् त्यस अनुरुप हाम्रो जीवनशैली उद्देश्यमुखि भई पूरै जीवन उपासनामय हुन सकेन भने यो हामी सबैका लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा सावित हुन जान्छ ।

रोजा र हाम्रो शरीर :

हाम्रो शरीरमा ऊर्जाको प्रमुख स्रोत कार्बोहाइड्रेट हो जुन ग्लूकोजको रुपमा रगतमा हुन्छ । ग्लूकोज मुख्यतः कलेजो र मांशपेशीमा ग्लाइकोजेन को रुपमा परिवर्तित भई संचित भएको हुन्छ । जुन रोजा राख्दा आवश्यक्तानुसार विस्तारै आठ देखि दस घण्टासम्म पुनः ग्लूकोजमा परिवर्तित भई शरीरलाई ऊर्जा प्रदान गर्दछ साथमा कलेजो तथा मिर्गौलामा ग्लिसेरोल, अमिनो एसिड जस्ता पदार्थहरुबाट नयाँ ग्लूकोज बन्ने प्रक्रिया पनि शुरु हुन थाल्दछ । यस बाहेक रोजा बस्दा शरीरमा भएको बोसो ग्लिसेरोल र फैटी एसिड मा टुक्रिन थाल्दछ । रगतमा फैटी एसिड को मात्रा बढ्दै गएपछि कलेजोमा किटोन बडिज निर्माण हुन थाल्दछन् । जसमध्ये एसिटोन वाष्पशील भएको हुनाले रगतबाट फोक्सो हुदै श्वास फेर्दा विशेष गन्ध सहित बाहिर आउने गर्दछ । यसैलाई हदीसमा ‘खुलुफ’ भनी उल्लेख गरिएको छ कि रोजा राख्ने व्यक्तिको मुखबाट आउने गन्ध (खुलुफ) अल्लाहलाई मुश्क (कस्तुरी) को सुगन्ध भन्दा पनि बढी प्रिय छ । (बुखारी र मुस्लिम)

इस्लाम पूरै ब्रह्माण्डका सृष्टिकत्र्ता अल्लाहद्वारा निर्देशित प्रकृति अनुरुप एउटा पूर्ण जीवन पद्धति हो । तसर्थ यसका आदेशहरुको पालनामा नै सम्पूर्ण मानवजातिको कल्याण निहित छ । अतः रोजा पनि एउटा स्वस्थ व्यक्तिको लागि हानिकारक नभई शारीरिक, मानसिक, सामाजिक लगायत हरेक रुपमा बैज्ञानिक अध्ययन तथा अनुसन्धान हरुबाट लाभकारी साबित भइसकेको छ । तैपनि रोजा बस्दा मानिसहरुलाई प्राय हल्का पेट दुख्ने, चाँडै रिस उठ्ने, शरीरमा हल्का पानीको कमी हुने, चाँडै थकाइ लाग्ने, कमजोरी महसुस हुने, रिँगटा लाग्ने तथा बेहोश हुने जस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन सक्दछ । तर यी सामान्य समस्याहरुको दाँजोमा रोजाबाट हुन असामान्य पारलौकिक तथा लौकिक फाइदाहरु अतुलनीय छन् ।शारीरिक रुपमा रोजा स्वस्थ मानिसकोलागि एउटा ठूलो बरदान नै सिद्ध भएको छ । यस अन्तर्गत रोजाबाट हुने स्वास्थ्य सम्बन्धी केही फाइदाहरु प्रणालीगत रुपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

स्नायु प्रणाली

यो सबभन्दा जटिल तथा अत्यन्त संवेदनशील प्रणाली हो जसको नियन्त्रणमा शरीरका अन्य सम्पूर्ण प्रणालीहरु कार्य गरिरहेका हुन्छन् । यस प्रणालीको सबैभन्दा सानो एकाइलाई स्नायुकोष भनिन्छ । नियमित रुपमा रोजा राख्दा मस्तिष्कका स्नायुकोषहरु को वृद्धि विकास झन राम्ररी हुने गर्दछ । फलस्वरुप विस्तारै मानिसको स्मरण शक्ति लगायत बौद्धिक क्षमतामा पनि उल्लेखनीय सुधार आउँछ । साथै यसले विभिन्न मानसिक समस्याहरुबाट पनि जोगाउँछ ।

अन्तस्राव प्रणाली –

यो शरीरको विभिन्न अंगहरुको क्रियाकलापहरुलाई पनि रासायनिक रुपले नियन्त्रण गर्ने अति महत्वपूर्ण प्रणाली हो । यसमा प्रमुख भूमिका खेल्ने रासायनिक पदार्थलाई हार्मोन भनिन्छ । रोजाको अवस्थामा प्यान्क्रियाज बाट स्रावित हुने इन्सुलिन प्रति शरीरको संवेदनशीलता बढ्दछ । जसले गर्दा मानिसलाई मधुमेह हुने सम्भावना एकदमै न्यून हुन जान्छ । यसका साथै शरीरमा अन्य रासायनिक पदार्थहरुको मात्रा बढ्दछ । फलस्वरुप रोजा राख्ने व्यक्ति शारीरिक तथा मानसिक रुपमा झन स्वस्थ हुन्छ ।
रक्त संचार प्रणाली – मुटु र रक्तनलीहरु यस प्रणालीका प्रमुख अंगहरु हुन् । यस प्रणाली संबन्धी समस्याहरुको मुख्य कारण शरीरमा बोसोको मात्रा बढ्नु हो । रोजा राख्दा रगतमा स्वास्थ्यको लागि राम्रो मानिने कोलेस्टेरलको मात्रा बढ्नुका साथै नराम्रो मानिने कोलेस्टेरलका को मात्रा घट्दछ । फलस्वरुप रक्तनलीहरु कडा भई साँगुरो हुनु, उच्च रक्तचाप,हृदयघात जस्ता समस्याहरुबाट सजिलै बच्न सकिन्छ । साथै रोजाले शरीरको तौललाई सन्तुलनमा राखी यसलाई झन सुगठित एवं सुन्दर बनाइ राख्न सहयोग पु-याउँछ ।

पाचन प्रणाली – यो शरीरको अत्यन्त महत्वपूर्ण प्रणाली हो । यसले नै अन्य प्रणालीहरुलाई क्रियाशील बनाई राख्नको लागि आवश्यक पोषकतत्व भित्रयाउने कार्य गर्छ । रोजाको अवस्थामा शरीरका प्रमुख अंगहरु लगायत पाचनक्रियामा भाग लिने अंगहरुको कार्यक्षमतामा वृद्धि हुन्छ । रोजा राख्दा शरीरमा भएका विषाक्त पदार्थहरुलाई कलेजोमा विषरहित बनाउने प्रक्रिया को गतिविधि बढी हुन थाल्दछ ।जसले गर्दा उक्त पदार्थहरुको नकारात्मक असरबाट सुरक्षित भई शरीर झन स्वस्थ हुन थाल्दछ ।

अन्य – हामीलाई थाहा छ कि चुरोट, बिँडी, हुक्का, पान मसाला, खैनी जस्ता सूर्तीजन्य पदार्थहरुको सेवनले प्राणघातक रोग क्यान्सर हुनु लगायत मुटु, फोक्सो, मृगौला, मस्तिष्क आदि संवेदनशील अंगहरु क्षतिग्रस्त भई कमजोर हुँदै जान्छन् ।

रोजाबाट हामी यस्ता नशालु पदार्थहरुको कुलतबाट छुट्कारा पाउन सक्दो सहयोग प्राप्त गर्न सक्दछौं । रोजाले गर्दा शरीरको रोग विरुद्ध प्रतिरोध शक्ति बढ्छ । त्यसकारण नियमित रोजा राख्दा मानिस विभिन्न रोगहरुको संक्रमणबाट धेरै हदसम्म सुरक्षित रहन्छ । रमजान महिना बाहेक हरेक महिनामा पनि केहि रोजाहरु राख्दा शरीरमा अति हानिकारक तत्वहरुको मात्रा आफै घट्न थाल्छ । जसले गर्दा क्यान्सर, हृदयघात, पक्षाघात हुने सम्भावना पनि घट्दै जान्छ । साथै उक्त तत्वहरुको मात्रा घट्दै जाँदा नियमित रोजा राख्ने व्यक्ति अरुको तुलनामा लामो समयसम्म युवा रहिरहन्छ ।

रोजाबाट हुने फाइदाहरुबाट पूर्णरुपमा लाभान्वित हुनकालागि हामीले अल्लाहका सन्देष्टा मुहम्मद (स.) ले राखे अनुसार रोजा राख्नुपर्छ । इफ्तार पछि तथा सेहरीमा धेरै चिल्लो पिरो बढी मसला भएको खानेकुरा पेटभरी टन्न नखाई सामान्य अवस्थामा खाए झैं सादा सन्तुलित एवं हलुका भोजन लिनुपर्दछ । रोजा स्वस्थ व्यक्तिमाथि अनिवार्य गरिएको छ । तसर्थ कुनै पनि बिरामीले रोजा राख्दा चिकित्सकसँग सरसल्लाह गर्नुका साथै नियमित परीक्षण गराइराख्नु अत्यन्त आवश्यक छ । इस्लाममा रोजा नराख्ने अशक्त विरामीहरुका निम्ति अवस्थानुसार पछि कजा रोजा राख्नु अथवा फिद्याको पनि व्यवस्था गरिएको छ । सैयदना हजरत अबु उमामा (रजि.) ले मुहम्मद (स.)लाई सोध्नुभयो कि हे अल्लाहका संदेष्टा(स.)मलाई कुनै यस्तो काम बताउनुहोस् जो धेरै फाइदाजनक होस् । मुहम्मद (स.)ले जवाफ दिनुभयो रोजा राख्ने गर यस भन्दा फाइदाजनक अरु कुनै चिज छैन । (हदीसको संग्रह : अन् निसाई)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter