आइतबार, २३ बैशाख २०८१

स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

९ जेष्ठ २०७५, बुधबार ११:५४ मा प्रकाशित

रामपुर, पाल्पा, ९ जेठ (रासस)  रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ ।

यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिनुभएको छ ।

त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गर्नुभएको खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले जानकारी दिनुभएको छ ।

मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग वास्तविक मानव सेवा हुने भन्दै दुवै परिवारले अमूल्य जग्गादान गरी रजिष्टे«शन पास गरी दिनुभएकोमा स्वास्थ्य चौकीको लागि गर्नुभएको सहयोगलाई सही सदुपयोग गर्ने बताउँदै दानदातालाई प्रमुख अधिकारीले धन्यवाद दिनुभएको छ ।

आगलागी पीडितलाई राहत वितरण

यसैबीच, आगलागीबाट क्षति भोगेका रामपुरका पीडितलाई राहत वितरण गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत रामपुर नगरपालिका, पाल्पाले आगलागीबाट क्षति भोगेका सातजनालाई राहत रकम प्रदान गरेको हो ।

रामपुर नगरपालिका–१ बस्ने हीराबहादुर खाँणलाई घरगोठ जलेर क्षति भएबापत रु ३० हजार, वडा नं ५ बस्ने खगनाथ अधिकारीको परालको टौवा जलेर नष्ट भएबापत राहतस्वरुप रु पाँच हजार, वडा नं ६ बस्ने गोमता गौतमको घर र परालको टौवा जलेर नष्ट भएपछि रु १० हजार, वडा नं ९ बस्ने लिमप्रसाद श्रेष्ठको गोठसहित गोठमा रहेका भैँसी, गोरु, पाडा जलेर नष्ट भएको क्षतिपूर्तिबापत रु २५ हजार, वडा नं १० बस्ने खुमबहादुर थापाको गोठ जलेर नष्ट हुँदा रु १० हजार, सोही ठाउँकै वीरबहादुर कुँवर बिटालुको गोठसहित गोठमा रहेका गोरु, परालको टौवा जलेर नष्ट हुँदा क्षतिबापत रु १५ हजार राहत रकम वितरण गरिएको समितिका संयोजक तथा वडा नं २ का वडाध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।

त्यस्तै, वडा नं ७ को ठाडी उकाली सूर्यवास सामुदायिक वन क्षेत्रबाट मलेङ गाउँमा ल्याइएको खानेपानीको पाइप जलेर नष्ट हुँदा खानेपानी पाइप खरिदका लागि रु २० हजार रकम गरी जम्मा रु एक लाख १५ हजार बराबरको राहत रकम प्रदान गरिएको समितिका सदस्य सीमादेवी रानाले बताउनुभयो ।

भैपरी हुने घटनाबाट आपतविपत परेका बेला धेरै थोरै भएपनि पीडितलाई सहयोग पुगोस् भन्ने भन्ने उद्देश्यले राहत रकम वितरण गरिएको हो । वातावरण तथा विपद् व्यवस्थापन समितिको अनुगमनमा प्रहरी मुचुल्का अनुसार पीडितलाई राहत रकम उपलब्ध गराइएको नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । क्षतिको विवरण हेरेर धेरैथोरै राहत रकम वितरण भएकोमा खुशी लागेको स्थानीयबासी सूर्यप्रसाद भट्टराईले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter