बुधबार, १९ बैशाख २०८१

प्रदेश सरकारका कृषि मन्त्रीहरुको केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्धता

७ जेष्ठ २०७५, सोमबार १०:४७ मा प्रकाशित

प्रदेश सरकारका कृषि मन्त्रीहरुले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँगको छलफलमा सबै प्रदेशका कृषि मन्त्रीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
केन्द्र र प्रदेश सरकारको लय मिले मात्र गन्तब्वमा पुग्न सकिने भन्दै उनीहरुले एक्ला एक्लै हिड्न खोज्दा गन्तब्यमा पुग्न नसकिने बताए । त्यसको लागि केन्द्र सरकारले समन्वयन गर्नु पर्ने कृषि मन्त्रीहरुको भनाई छ । भूमिको समस्या जटिल रहेको भन्दै उनीहरुले समस्या समाधान गर्न केन्द्र सरकारलाई प्रदेशले साथ दिने उनीहरुको भनाई छ ।
३ नम्बर प्रदेश सरकारका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले एउटा जिल्लामा एउटा कोल्ड स्टोर, सबै जिल्लामा दूधको चिस्यान केन्द्र, तरकारीमा विषादी नियन्त्रण, गाई भैँसीको उपचारका लागि पशु एम्बुलेन्स ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले पाउडर दुध प्लान्ट असफल भएको भन्दै त्यसका बारेमा पुर्नविचार गर्नु पर्ने सुझाव दिनुभयो ।
प्रदेश २ का कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री शैलेन्द्रप्रसाद साहले २ नम्बर कृषिमा आधारित प्रदेश भएकाले केन्द्रलाई विशेष योजनाका साथ सहयोग गर्न आग्रह गर्नुभयो । केन्द्र सरकारको सहयोग भएमा २ नम्बर प्रदेश कृषिमा आत्मनिर्भर हुन समस्या नरहेको उहाँको भनाई थियो । तर कर्मचारीको अभावमा चौमासिक आयोजना पनि अघि बढाउन नसकिएको मन्त्री साहले बताउनुभयो । उहाँका अनुसार २३ जना दरवन्दी भएको प्रदेश २ सरकारमा १४ जना मात्र कर्मचारी पुगेका छन् ।
प्रदेश ७ की भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले आफ्नो प्रदेशमा सिंचाईको समस्या रहेको भन्दै केन्द्रलाई प्राथमिकताका साथ योजना ल्याउन आग्रह गर्नुभयो । वर्गिकरण गरेर अनुदान नदिएसम्म वास्तविक किसानको पहिचान हुन नसक्ने उनको भनाई छ ।
प्रदेश ५ की भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालयहरुबीच समन्य गरेर एकले अर्कोलाई सहयोग गर्दै अघि बढ्नु पर्ने बताउनुभयो ।
मन्त्रीहरुका सुझाव सुनेपछि संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले केन्द्र सरकारले के के समन्वयन गर्नुपर्छ त्यसको विवरण पठाउन आग्रह गर्नुभयो । उहाँले कृषिजन्य जमिन जोगाएर किसानलाई फाइदा हुने बाहेक अरु धेरै गर्छु भनेर बढी महत्वकांक्षी योजना अघि नसार्न आग्रह गर्नुभयो ।
‘किसानलाई फाइदा हुने काम मात्र सोच्नुस्, मन्त्री खनालले भन्नुभयो, ‘नमूनाका रुपमा केही ठाउँमा मात्र राम्रा कामको शुरुवात गर्नुस, राम्रो भएपछि अन्त पनि विस्तार गर्न सकिन्छ । एकै पटक धेरै गर्छु भनेर सोच्दा किसानले पत्उँदैनन्, काम गर्न पनि सकिन्न ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter