शुक्रबार, ०४ जेठ २०८१

प्रेस मर्यादित हुनुपर्छ: सञ्चार राज्यमन्त्री बास्कोटा

५ जेष्ठ २०७५, शनिबार १५:४० मा प्रकाशित

सुर्खेत, ५ जेठ (रासस)  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।”

राज्यमन्त्री बाँस्कोटाले सामुदायिक रेडियो र व्यावसायिक रेडियोलाई एकै नजरले हेर्न सकिदैन् बताउँदै “सामुदायिक रेडियो सेवामुखी हुन्छन् भने व्यावसायिक रेडियो नाफामुखी हुन्छन्, त्यसैले रेडियोको वर्गिकरण गर्नुपर्छ,” भन्नुभयो ।

संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले सञ्चारमाध्यमको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नुपर्ने बताउँदै उहाँले गलत सूचना प्रशारण तथा प्रकाशन गर्नेलाई कारबाही गर्न आफूले कत्ति पनि बिलम्ब नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति जिम्मेवार र प्रतिबद्ध रहेको उल्लेख गर्दै अमेरिकाभन्दा बढी प्रेस स्वतन्त्रता नेपालमा रहेको बताउनुभयो ।

कर्णालीको भूगोल बदल्न नसकेपनि यहाँको स्रोत र साधनलाई प्रयोग गरेर देशलाई नै समृद्ध बनाउन सकिन्छ, उहाँले भन्नुभयो ।

मिडिया सिपाहीको भूमिकामा हुनुपर्छ ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
आज वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन गर्दै उहाँले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीमा केही रेडियो दोहोरी खेल्नेमा मात्रै सीमित रहेको उल्लेख गर्दै मिडियालाई अझै सशक्त बनाइ जनताका सवालमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।

‘प्रदेशमा ४० वटा एफएम सञ्चालनमा आएका छन्,’ उहाँले भन्नुभयो, “ती रेडियोलाई व्यवस्थित गरौं, नयाँ खोल्नु खासै जरुरी नै छैन ।”

मुख्यमन्त्री शाहीले ‘हाम्रो गन्तव्य समृद्ध कर्णाली बनाउने हो’ भन्दै यसका लागि सञ्चार क्षेत्रको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा छ बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हामीले आम सञ्चार प्रतिष्ठान र विज्ञापनका लागि एकद्वार नीति अवलम्बन गर्ने योजना बनाएको उल्लेख गर्दै “मिडियालाई बलियो बनाएर लैजान प्रदेश सरकार तयार छ,” भन्नुभयो ।

मन्त्री ज्वालाले सञ्चारमाध्यमका लागि आवश्यक कानून र नीति बनाउनेमा पनि जोड दिनुभयो । (तस्वीर उपलब्ध छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter