सोमबार, २४ बैशाख २०८१

कार्वन उत्सर्जन कम गराउन आग्रह

४ जेष्ठ २०७५, शुक्रबार २२:४९ मा प्रकाशित

काठमाडौँ, ४ जेठ (रासस) ः खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत इञ्जिनीयरको संस्था (सोफेन) ले सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रम र बजेटमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विषयमा सुझाव दिएको छ ।

सोफेनका अध्यक्ष रामदीप साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानी तथा सरसफाइमन्त्री विना मगरलाई भेटी गत चैत २७ देखि २९ सम्म आयोजित ‘जल, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदानप्रदान र साझेदारी’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको प्रस्ताव नेपालको सन्दर्भमा लागू गर्ने उपायका बारेमा पनि सुझाएको थियो ।

सो अवसरमा अध्यक्ष साहले नेपालले संयुक्त राष्ट्रसंघीय दिगो विकासका लक्ष्य हासिल गर्नका लागि गरेको प्रतिबद्धतानुरुप सबै नेपालीलाई स्वच्छ पानी उपलब्ध गराउन आगामी आर्थिक वर्षमा स्वच्छ खानेपानी विधेयक तर्जुमा गरी संसद्बाट पारित गराउन, शहरीकरणसँगै आउने फोहरमैला व्यवस्थापन, मानव मलमूत्रीय फोहर व्यवस्थापन र ढल व्यवस्थापन योजनाबद्ध ढंगले गर्न तथा वर्षात्को पानी संकलन गर्ने तथा घरमा उपयोग गरिएको पानीको प्रशोधन गरी पुनःउपयोग गर्ने ज्ञान, प्रविधि र अभ्यासलाई विस्तार गर्न माग गर्नुभयो ।

त्यसैगरी सोफेनले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रमुख कारण कार्वन उत्सर्जन गर्ने सवारी इन्धन तथा उद्योगबाट सोको न्यून उत्पादन हुने विधि र प्रविधि अवलम्बन गर्न आग्रह गर्दै निर्माता र ठेकेदारलाई पूर्वाधार र विशेष गरी सडक र भवन निर्माणका क्रममा निस्केका अधिक धूलोबाट मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी काम गर्ने व्यवस्था गर्नुपर्ने आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलले जलवायु परिवर्तनको दृष्टिले विश्वका जोखिमयुक्त राष्ट्रमा चौथो स्थानमा रहेको नेपाललाई जलवायु परिवर्तन कोषबाट अत्यधिक लाभ दिलाउन सोअनुकूल कार्यक्रम विकसित गरी देशव्यापी रुपमा कार्यान्वयन गर्न पनि सुझाव दिएको थियो । सो अवसरमा डा कँडेल र मन्त्रीद्वय बस्नेत र मगरले ध्यानाकर्षणपत्रमा उल्लिखित विषय निकट भविष्यमा आउने नीति तथा कार्यक्रम र बजेटमा यथाशक्य समेटिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter