शनिबार, २९ बैशाख २०८१

उन्नत जातका खसीबोकाको बिक्री शुरु

२ जेष्ठ २०७५, बुधबार १६:५३ मा प्रकाशित

विराटनगर, २ जेठ (रासस)  मोरङ जिल्लामा खसी र बोकाको व्यावसायिक कारोबारका लागि उन्नत जातका विदेशी नश्लका खसी बोका र पाठापाठीको उत्पादन विक्री वितरण शुरु भएको छ ।

रंगेली नगरपालिका अन्तर्गत दर्बेसा –८ स्थित सावित्रा बाख्रा फार्ममा अस्टे«लियाको बेयर जातका बोका र भारत राजस्थानको बारबरी जातको बोका खरिद गरी स्थानीय बाख्रालाई गर्भाधान गराई उन्नत जातको पाठापाठी उत्पादन तथा बिक्री वितरणको कारोबार भइरहेको उक्त फार्मका सञ्चालक फणिन्द्र सुवेदीले जानकारी दिनुभयो ।
.
विगतमा स्थानीयस्तरका बोकाबाट गर्भाधान गराइ पाठापाठी उत्पादन भइरहेको थियो तर उन्नत जातको पाठापाठी उत्पादन नभएकाले चितवनबाट जमुनापारी उच्च नश्लका बोका गर्भाधानका लागि ल्याइएको हो ।

सिराहाको बन्दीपुरस्थित कृषि अनुसुन्धन परिषद्को कार्यालयबाट अस्ट्रेलियन बोका तथा राजस्थानी बारबरी जातको बोका ल्याइएको हो । नश्लसुधार कार्यक्रम अन्तर्गत पाठापाठीको उत्पादनका लागि बोका ल्याएको सो फार्मले प्रति बोका रु एक लाखदेखि डेढ लाख सम्ममा खरिद गरिएको जनाएको छ ।

पाठापाठी जन्मेको तीन महिनामा २२ केजी सम्मको खसीबोका हुने भएकाले सो फार्मबाट पूर्वाञ्चलको राजविराज, लाहान, सिराहा, धरान, धनकुटा, दमक, काकड्भिटा, विर्तामोड, इलाम र भारत बिहार किसनगन्ज,अररिया, पुरर्नीया, फारबिसगञ्जलगायतका व्यवसायी यहाँ खसीबोका खरिद गर्न आउँछन् ।

करीब दस कठ्ठा जमिनमा ठूला दुई खोर रहेको सो फार्ममा करिब २५० वटा विभिन्न जातका खसीबोका, पाठापाठी, माउ बाख्रा र तीनवटा बोका छन् । करीब पाँच वर्ष अगाडि घरेलु कार्यालयमा दर्ता गरी व्यावसायिक रुपमा खोलिएको सो फार्म सञ्चालनका लागि सप्तकोशी बैँकबाट रु तीन लाख ऋण तथा आफ्नो पुँजी रु दुई लाख गरी रु पाँच लाखबाट शुरु भएको फार्मको कारोबार पुँजी करीब रु पचास लाख बराबरको भएको छ ।

बाख्रा र खसीबोकाका लागि चार बिगाहा जमिनमा घाँस, बोटबिरुवा तथा जंगल लगाइएको छ तर यस्तो अवस्थामा पनि सरकारीस्तरबाट कुनै सहयोग नभएको सञ्चालक सुवेदीको गुनासो छ ।

जिल्ला पशुसेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, रंगेली नगरपालिकाका पदाधिकारीले पटक÷पटक निरीक्षण गरेपनि कुनै सहयोग नभएको फार्मको सञ्चालकको गुनासो छ । सो फार्ममा अहिलेसम्म पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, सूर्यबहादुर थापा तथा वर्तमान अर्थमन्त्री युवराज खतिवडालगायत अन्य नेताले समेत निरीक्षण गरेर आश्वासन मात्र दिएकोे सञ्चालक सुवेदीले बताउनुभयो ।
फार्मको सम्बन्धमा प्रदेश न– १ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका वरिष्ठ अधिकृत डा अशोक सिंहले सो फार्मले गरेको कामको प्रसशां गर्दै फर्मलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चालक सुवेदीका छोरा अशोक सुवेदी वैदेशिक रोजगारीबाट फर्केपछि खसीबोकाको कारोबारमा लागेको उहाँले बताउनुभयो ।

मोरङ जिल्लामा खसीबोकाको उत्पादन कम भएका कारण ७५ प्रतिशत मासुका लागि खसीबोका भारतबाट आयात हुने गरेको कृषि प्राविधिक तथा व्यवसायीको भनाइ छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter